धरान : धरान उपमहानगरपालिका भित्र स्वच्छ र सफा वातावरण कायम गर्न, घरपालुवा तथा सामुदायिक कुकुरहरुबाट हुने प्रदुषण रोक्न कुकुर व्यवस्थापन गर्ने लगायतको निर्णय गर्दै धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक समपन्न भएको छ ।

धरान उपमहानगरपालिकाको मेयर तिलक राईको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले, घर पालुवा तथा सामुदायिक कुकुरहरुबाट हुने प्रदुषण रोक्न तिनको तथ्यांक राख्न, अध्यावधिक गर्न र कुकुरहरुको व्यवस्थापन गर्ने उद्देश्यले सम्बन्धित महाशाखाबाट सरोकारवालाहरुसँग छलफल गरि व्यवस्थापन गर्नुपर्नेछ ।

त्यसबारेमा कानुन तर्जुमा मस्यौदा समितिको बैठकमा समेत दफावार छलफल तथा सिफारिस समेतको आधारमा कुकुर व्यवस्थापन गर्ने सम्बन्धमा बैठकमा पेश भएको घरपालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन कार्यविधि, २०७७ स्विकृत समेत गरेको छ । यसैगरी साविक विष्णुपादुका र पाँचकन्याको हकमा थप व्यवस्थापन गर्ने गरि घरपालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन कार्यविधि स्विकृत भएको छ ।

आजको कार्यपालिकाको बैठकले नौ वटा व्यवस्थापन तथा कार्यविधि समेत स्वीकृत गरेको छ ।
आज बसेको धरान उपमहानगरपालिकाको कार्यपालिकाको बैठकले मेलमिलाप सम्बन्धी कार्यविधि सम्बन्धमा, कुकुर व्यवस्थापन कार्यविधि सम्बन्धमा, नगरसभाको मिति तोक्ने सम्बन्धमा, नम्स सम्बन्धमा, (तालिम, सेमिनार, गोष्ठी, भ्रमण लगायतको), वातावरणीय परिक्षण प्रतिवेदन स्वीकृत गर्ने सम्बन्धमा, खानेपानी मुहान उपयोगका सम्बन्धमा, निर्माण सामाग्री दररेट सम्बन्धमा, उपभोक्ता समितिको प्रतिशत सम्बन्धमा र खरिद गुरु योजना सम्बन्धमा निर्णय भएको छ ।

न्यायिक समितिले प्रचलित कानुन बमोजिम उजुरीको कारबाही र किनारा गर्दा मेलमिलापकर्तालाई व्यवस्थित गर्न अपनाउनु पर्ने कार्यविधि तय गरी स्पष्टता एकरुपता एवं पारदर्शिता कायम गरी कानुनको शासन तथा न्याय प्रतिको विश्वास कायम राखि मेलमिलापकर्ताहरुलाई व्यवस्थापन गर्ने पनि निर्णय भएको छ ।

स्थानीय सरकार संचालन ऐन, २०७४ ले प्रदान गरेको न्यायिक समितिले हेर्ने भनी तोकिएका विवादहरुलाई थप कानुनी व्यवस्था गर्न स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा ४९९३० नं। बमोजिम न्यायिक समितिले आफुले सुचिकृत गरेका मेलमिलापकर्ताबाट मिलापत्र गराउनु पर्ने सोही व्यवस्थापन बमोजिम कार्यान्वयन गर्ने पनि स्वीकृत भएको छ ।

धरान उपमहानगरपालिकाको तालिम, गोष्ठी, सेमिनार, कार्यशाला, अध्ययन भ्रमण आदिको पारिश्रमिक, भत्ता एवं अन्य खर्चको मापदण्ड २०७४ को संशोधन पनि पारित गरेको छ ।

धरान उपमहानगरपालिकाको क्षेत्रभित्र पर्ने विभिन्न खोलाहरुबाट नदिजन्य पदार्थ उत्खनन् तथा व्यवस्थापन गर्ने सम्बन्धी प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन स्वीकृत गरिएको छ । धरान उपमहानगरपालिका क्षेत्र भित्र पर्ने सेउती, सेहरा, अँधेरी, सर्दु र पटनाली खोलाको प्रारम्भिक वातावरणीय परिक्षण गरिएको छ ।

निर्माण सामाग्री दररेट सम्बन्धमा नगर प्रमुखबाट माघ १० गते स्वीकृति भएको थियो । स्मार्ट बसपार्क, विद्यालय भवन रेट्रोफिटिङ्ग, नगर कार्यपालिका भवनको फिनिसिंग, लगायतको कामका लागि यसअघि प्रयोग नभएका केही आइटमहरु प्रयोग गर्न पर्ने भएको हुनाले उक्त नयाँ आईटमहरु यसअघि पारित दररेटमा समावेश नभएको तथा उक्त दररेट पारित नगरी लागत अनुमान तयार गर्न नसकिने हुनाले पारित गर्न जरुरी देखिएको हो ।

स्वीकृत नगर दररेटमा केही आईटमहरु छुट हुन गएको हुनाले लागत अनुमान तयार गर्नका लागि पनि उक्त छुट आइटमहरुको दररेट स्वीकृत कार्यपालिका बैठकबाट निर्णय गरिएको हो ।

बैठकमा खानेपानी मुहानको उपयोगका लागि अनुमति दिने सम्बन्धमा ३ वटा उपभोक्ता समितिहरुलाई मुहानको अनुमति दिई दर्ता गर्ने निर्णय गरिएको छ । स्थानीय तहमा आएको अधिकारका कारण उक्त कार्यविधि प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

उपभोक्ता समितिको प्रतिशत सम्बन्धमा उपभोक्ता समितिबाट सञ्चालित योजनाहरुमा एकरुपता कायम गर्न सम्बन्धित उपभोक्ता समितिले व्यहोर्नु पर्ने जनसहभागिता रकमको प्रतिशत निर्धारण गर्नका लागि २०७६ असार १० गतेको कार्यपालिका बैठकबाट निर्णय भए अनुसार ढल निर्माणका लागि ४० प्रतिशत प्रस्ताव भएकोमा १० प्रतिशत भनि भुलवश उल्लेख भएको तथा सोही निर्णयमा न्यूनतम जनसहभागिता १५ प्रतिशत कायम भएको हुनाले कार्यपालिकाबाट भएको निर्णय कार्यान्वयनमा समस्या देखिएकोले उक्त निर्णय सच्याउन स्वीकृत गरेको छ ।

खरिद गुरुयोजना सम्बन्धमा आ.व. ०७७/७८ का लागि स्वीकृत केही नगरस्तरीय योजनाहरु कामको प्रकृति तथा बजेटको आकारको कारणबाट चालु आ.व. मै सम्पन्न हुने अवस्थामा नदेखिएको जनाएको छ । त्यस्तो किसिमको योजनाहरु बहुवर्षिय योजनाको रुपमा स्वीकृत गर्नुपर्ने हुन्छ । यसरी बहुवर्षिय योजनाको रुपमा स्वीकृत गर्नका लागि खरिद गुरु योजना स्वीकृत गर्नु पर्ने भएकोले कार्यपालिका समक्ष पेश गरिएको जनाएको छ ।

ज्ञानोदय मा.वि. धरान-११ को थप भवन निर्माण सम्बन्धमा, न्यायिक समितिबाट भएको मिलापत्र कार्यान्वयन सम्बन्धमा, भूमि सम्बन्धी समस्या समाधान सहजीकरण समिति गठन सम्बन्धमा लगायत विविध विषयमा भोलि (मङ्गलबार) दिउँसो ३ बजेको कार्यपालिकाको बैठकले छलफल गरेर पारित गर्ने जनाएको छ । धरान उपमहानगरपालिकाको फागुन १० गते सोमबार नगरसभा गर्ने पनि बैठकले निर्णय गरेको छ ।