इटहरी : नेपाली काँग्रेसका नेताहरूले संसद् पुनर्स्थापना गरेरै छाड्ने बाचा गरेका छन् । प्रतिनिधि सभा विघटनको विरुद्धमा नेपाली काँग्रेसका भातृसंगठनले गरेको जिल्ला स्तरीय कार्यक्रममा नेताहरूले काँग्रेस पुर्नस्थापनको पक्षमा अनवरत लागिरहने सङ्कल्प गरेका हुन् ।

सुनसरीको इटहरीमा आयोजित सभामा सम्बोधन गर्दै केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले काँग्रेसले जसरी पनि संसद् पुनर्स्थापना गराएरै छाड्ने बताए । संसद्मा विश्वासको मत लिन नसकी लाचार भएर दलीय झगडाको ढाल सांसदलाई बनाएर प्रधानमन्त्रीले महाभुल गरेको उनको तर्क छ ।

संसद् पुनर्स्थापना भए मात्र संविधानको रक्षा हुने भएकोले काँग्रेसको एक मात्र मुद्दा पुनर्स्थापना भएको उनको भनाई छ । कालीबहादुर खाम जस्तो हत्याको अभियोग लागेका मान्छेहरूलाई संरक्षण गर्ने काममा प्रधानमन्त्री लागिपरेकोले दण्डहीनता मौलाएको उनले बताए ।

मोरङको विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले यो सरकारले नेपाली काँग्रेसलाई सडकमा ल्याउन बाध्य पारेको बताए । नेपाली काँग्रेस सडकमा आयपछि सत्ता नबच्ने प्रस्ट पार्दै उनले अब यो सरकारको आयु लामो नभएको बताए । साइबर सेना परिचालन गरेर सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने खोजेको उनको आरोप छ ।

निवर्तमान प्रतिनिधि सभा सदस्य सिताराम मेहताले यो सरकारले भ्रष्टाचार ढाकछोप गर्न संसद् विघटन गरेको बताएका छन् । कम्युनिष्टहरुले सत्ता चलाउन नसक्ने भन्दै उनले केपी शर्मा ओलीले अधिनायक बादी कदम चालेको आरोप लगाए ।

प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले नेपाली काँग्रेस प्रतिगमनको विपक्षमा भएको बताए । प्रतिगमनको पक्षमा समर्थन गर्नेहरूलाई पनि आफूहरूले मत दिन नसक्ने उनको भनाई छ ।