विराटनगर : संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री भानुभक्त ढकालले सभामुख अग्निप्रसाद सापकोटा प्रचारमा आउन संवैधानिक परिषद्को बैठकले गरेको सिफारिस फिर्ता गरेको बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री ढकालले सभामुख बढी प्रचारमुखी भएको बताए । संवैधानिक परिषद्को बैठकले गरेको सिफारिस फिर्ताले केही असर नगर्ने उनको भनाई छ । सभामुख सापकोटाले परिषद्को सदस्यको हैसियतमा भन्दा पनि व्यक्तिगत रूपमा सिफारिस फिर्ता गरेको मन्त्री ढकालको जिकिर छ ।

संवैधानिक र कानुनी हिसाबले सिफारिस फिर्ताको अर्थ नभएको उनले बताए । संवैधानिक परिषद्मा गरिएको नियुक्त प्रक्रिया अघि बढेको मन्त्री ढकालले बताए । परिषद्को निर्णय अनुसार नियुक्ति हुने उनको भनाई छ ।
मन्त्री ढकालले काठमाण्डौंमा माघ २३ गते आयोजना गरिएको जनसभाको सहभागिता बढाउन आलोचकले सहयोग गरिरहेको बताए । उनले भने,‘ विरोधीको प्रचारका कारण पनि सहभागिता बढ्ने भयो ।’

विरोधीहरूले भने जस्तो माघ २३ गते कुनै पनि निर्णय नहुने उनको दाबी छ । जनसभाको सहभागिता उल्लेख्य हुने देखिएकाले नारायणहिटी अगाडी कार्यक्रम राखिएको मन्त्री ढकालले बताए । उनले भने,‘ राजनीतिक दलले काठमाण्डौंमा हैसियत अनुसार सभा गर्छन् ।’ ठुलो स्थानमा सभा गर्ने तयारी अनुसार कार्यक्रम गर्न लागिएको उनले बताए । मन्त्री ढकालले भने,‘ ठुलो ठाउँको खोजी गर्दा त्यहाँ गर्ने निर्णय गरियो ।’

सरकारले निर्धारण गरेकै मितिमा निर्वाचन हुने उनको भनाई छ । सरकारको विरोध गरे पनि राजनीतिक दलले निर्वाचनको तयारी गरिरहेको मन्त्री ढकालले बताए । सरकारको विरोध गरे पनि दलहरूले भित्र भित्रै निर्वाचनको पनि तयारी गरिरहेको उनको भनाई छ ।