धरान : प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमका विरुद्धमा सुनसरीका पत्रकारहरूले र्‍याली, भेला तथा अन्तर्क्रिया कार्यक्रम गरेका छन् ।

आइतबार धरान-१२ चतरालाईन बाट सुरु भएको र्‍याली छाता चौक, भानु चौक, पुरानो बजार, सिंहदेवीचौक हुँदै सुनसरी उद्योग वाणिज्य सङ्घको सभाहलमा पुगेर भेला तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

प्रेस सङ्गठन सुनसरीको आयोजनामा भएको भेला नेपाल पत्रकार महासङ्घ १ नं. प्रदेशका महासचिव विवेक गौतमको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

भेलाले नेपालीको जनादेशबाट प्राप्त उपलब्धिको रक्षा र विकास गर्दै प्रेस तथा विचार अभिव्यक्तिको स्वतन्त्रता, सूचनाको हक, मौलिक एवम् नागरिक अधिकारको रक्षार्थ गरी दृढतापूर्वक उभिने प्रतिबद्धता समेत गरेको छ।

भेलालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घका १ नं. प्रदेश महासचिव विवेक गौतमले प्रधानमन्त्री ओलीको तानासाही प्रवृत्ति खतरनाक भएको भन्दै पत्रकार महासङ्घले संसद् विघटन गरेको केही समयमा नै विज्ञप्ति निकालेर विरोध गरेको भन्दै ओलीले असंवैधानिक कदम फिर्ता नलिएसम्म आन्दोलन निरन्तर रहने बताए ।

महासङ्घका सबै सदस्यहरूले प्रधानमन्त्री ओलीको कदमका विरुद्धमा जनताको पक्षबाट आवाज बोल्नुपर्ने गौतमको भनाई छ ।

वरिष्ठ पत्रकार हर्ष सुब्बाले मतव्य राख्दै प्रधानमन्त्री ओलीको असंवैधानिक कदमका विरुद्धमा असन्तुष्टि फैलिएको र यो अवस्थामा प्रेस स्वतंत्रताका बारे पत्रकारले मात्र हैन सम्पूर्ण जनताले विरोधमा आवाज उठाउनु पर्ने बताए ।

त्यस्तै नागरिक अभियानका डा. राजेन्द्र शर्माले ओलीले अधिकार नै नभएको कुरालाई किर्ते गरेर आफ्नो बनाउन खोजेको आरोप लगाए । उनले अदालतले राजनीति व्यवस्थापन नगर्ने बताउँदै अब नागरिकका हक, अधिकारका लागि सडक सङ्घर्ष आवश्यकता रहेको विचार व्यक्त गरे ।

भेलामा नेपाल प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारीले प्रधानमन्त्री ओलीले निरङ्कुश बन्ने प्रयत्न गरेको भन्दै त्यस कदमको सम्पूर्ण पत्रकारहरूले विरोध गर्ने बताए ।

Patrakar-birod-2

भेला तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अमर खड्काले पत्रकार महासङ्घ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको र प्रधानमन्त्री ओलीले चालेको कदमका विरुद्धमा महासङ्घ अग्रपङ्क्तिमा रहेर त्यसको विरोध गरेको बताए ।

कार्यक्रममा आदिवासी जनजाति पत्रकार महासङ्घका सल्लाहकार जनक ऋषि राईले ओलीको भाषण र व्यवहार निकै फरक रहेको बताए । उनले ओली तानासाही र निरङ्कुश भएको भन्दै उनको उक्त कदमका विरुद्धमा आन्दोलन गर्नुपर्ने आवश्यकता रहेको बताए।

भेला तथा अन्तर्क्रियामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य मुक्सामहाङ मेन्याङ्बो, नेकपा सुनसरीका सचिव रमेश बस्नेत, १ नं. प्रदेश सांसद सावित्री जोशी लगायतका नेताहरूले समेत आ-आफ्ना विचार व्यक्त गरेका थिए ।

उनीहरूले प्रधानमन्त्री ओलीले संसद् पुनर्स्थापना गर्नुपर्ने नभए तेस्रो जनआन्दोलन सुरु हुने र त्यसपछि ओलीको राजनीतिक जीवन नै समाप्त हुने दाबी गरेका छन् ।