धरान : धरान १५ को व्यवस्थापन तथा स्टार एड्भटाइजिङको आयोजनामा दुई दिने उद्घोषण तथा भाषणकला सम्बन्धी तालिम सम्पन्न भएको छ ।

धरान १५ स्थित सदन माविको सभा हलमा भएको तालिममा टिएलओका १५ जना प्रशिक्षार्थीहरू सहभागी भएका थिए । तालिमको समापनका बेला बोल्दै कार्यक्रमका प्रमुख अतिथि १५ नं. वडाका अध्यक्ष नरेश इङ्वारामले प्रशिक्षार्थीहरूमा पहिलेको तुलनामा बोल्ने क्षमता विकास भएको बताएका थिए ।

‘तालिममा सहभागी प्रशिक्षार्थीहरूको बोलीमा स्तरोन्नति भएको पाए ।’ उनले भने, ‘यस तालिममा लिएको ज्ञानले वडाको विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न सक्षम भएको मैले अनुमान लिएको छु । वडाको विभिन्न कार्यक्रमहरूमा आवश्यकता अनुसार सञ्चालकको रूपमा सहयोग लिनेछौ ।’ वडामा २७ वटा टिएलओ भए पनि प्रशिक्षार्थीहरूको सहभागिता कम भएकोमा अध्यक्ष इङ्वारामले गुनासो गरेका थिए ।

दुई दिने तालिमका प्रशिक्षक सञ्चारकर्मी शिशिर राई रहेका थिए । तालिमको अनुभव बताउँदै प्रशिक्षार्थी सरिता श्रेष्ठले तालिममा सरल तरिकाले जानकारी लिन पाइएको बताएकी थिइन ।

दुई दिनमा उद्घोषण तथा भाषणकला सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक जानकारी, आत्मविश्वास बढाउने उपायहरू तथा विविध जीवनोपयोगी सिपहरूको ज्ञान पाएको उनले बताइन ।