सुनसरी : सुनसरीको इनरुवा  नगरपालिका-२ बलाहा नहरबाट २ सय ५० केजी गाँजा सहित  २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

को १ च ९८५२ नम्बरको बलेरो गाडीमा ठुलो परिणाममा गाँजा तस्करी भइरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट बुधवार बिहान २ बजेको समयमा प्रहरी निरीक्षक सहितको कमान्डमा खटिएको प्रहरी टोलीले ब्यारिकेट सहित चेकिङ राखेकोमा बराहक्षेत्रबाट आएको उक्त नम्बरको गाडी ब्यारिकेट लडाएर फरार भएको थियो ।

ब्यारिकेटलाई क्षति गरी फरार भएको उक्त गाडीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी उपरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले बलाहा नहरबाट बिहान पौने ४ बजे नियन्त्रणमा लिएको हो । 

ब्यारिकेट लडाएर भागेको उक्त गाडीलाई नियन्त्रण लिन १ राउन्ड फायर समेत भएको थियो भने उक्त गाडीले भाग्ने क्रममा को १ ब २४३६ र को १ ब २१०५ नम्बरको मोटरसाइकललाई समेत क्षति पुर्‍याएको तथा १ जना प्रहरी समेत घाइते भएका छन् । 

कोशीपुलबाट भागेको उक्त गाडीलाई बलाहा नहरबाट राती नै नियन्त्रणमा लिएको हो  । गाडीसँगै चालक भोजपुर हतुवागडी गाउँपालिक-९ का २७ वर्षीय अर्जुन खड्का र गाडीमा सवार रहेका धरान-१ का  २६ वर्षीय ज्याक्सन श्रेष्ठलाई पक्राउ गरिएको छ  भने गाडीमा रहेको २५० के.जी गाँजा, नगद १ लाख ५४ हजार र १ थान खुकुरी समेत बरामद भएको छ ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको छ । 

Gaja-Pakrau