धरान : जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड धरान शाखाले कोरोना संक्रमित कर्मचारीहरूको कोरोना बिमा बापतको रकम धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलाई हस्तान्तरण गरेको छ ।

शाखाका प्रमुख प्रतीक श्रेष्ठ सहितको टिमले धरान उपमहानगर प्रमुख राईलाई कार्यकक्षमै भेटेर ४० जना कर्मचारीहरूको कोरोना बिमा बापतको रकम हस्तान्तरण गरेको हो । धरान उपमहानगरपालिकाले जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड धरान शाखासँग कोरोना बिमाको सम्झौता गरेको थियो ।

जस अन्तर्गत ४० जना कर्मचारीहरूलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको थियो । शाखाले ४० जना कोरोना संक्रमित कर्मचारीहरूको ४० लाख रुपैयाँको चेक नगर प्रमुख राईलाई हस्तान्तरण गरेको हो । उक्त ४० लाख रुपैयाँको चेक नगर प्रमुख राईले प्रमुख प्रशासकीय अधिकृत विदुर खनाललाई हस्तान्तरण गरेका छन् ।

नगर प्रमुख राईले कोरोना बिमा बापतको रकम प्राप्त हुँदा नगरपालिकामा कार्यरत कर्मचारीहरूलाई काम गर्न प्रेरणा मिलेको बताए । हरेक मानिसले स्वास्थ्यको बिमा गर्न जरुरी रहेको मेयर राईले बताए ।

ईन्स्योरेन्स प्रति मानिसको विश्वास बढेको बताउँदै नगर प्रमुख राईले प्रशंसा गरे । नगर प्रमुख राईले आगामी दिनमा पनि जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडसँग सहकार्य गर्दै जाने बताएका छन् ।

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड धरान शाखाका प्रमुख प्रतीक श्रेष्ठले बाँकी रहेका कर्मचारीहरूको कोरोना बिमा बापतको रकम चाँडै नै उपलब्ध गराउने जानकारी दिए ।