झापा : प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा बिहीबारको नेपाल बन्दलाई सशक्त बनाइने भएको छ ।

प्रचण्ड-नेपाल समूहको नेकपाले देशभर गर्ने आमहड्ताललाई सशक्त बनाउने तयारी भएको आन्दोलन परिचालन समिति दमकका सह-संयोजक बेदु गौतमले जानकारी दिएका छन् ।

नेकपा झापा-५ क्षेत्रीय समितिको आज बसेको आकस्मिक बैठकले बन्दलाई सशक्त बनाउने निर्णय गरेको उनले जानकारी दिए । 'एक दिनको बन्दले नागरिकलाई दु:खत होला त्यसप्रति क्षमा चाहान्छौं यद्यपि प्रतिगमनले हामीलाई पुस्तौँपुस्ता दु:ख दिन्छ' गौतमले भने ।

यो प्रतिगमन विरुद्धको लडाई भएकाले आम नागरिक, व्यवसायी लगायत सबैले साथ दिनेमा आफुहरु विश्वस्त रहेको गौतमले बताए ।

ओलीको निर्वाचन क्षेत्र अन्तर्गत दमक, कमल, गौरादह र गौरीगञ्ज पर्दछ । यी क्षेत्रमा अत्यावश्यक बाहेकका सबै यातायात, शैक्षिक संस्था तथा पसल, व्यवसाय बन्द गरिने उनले बताए ।

धरानमा पनि मसाल जुलुस

धरानमा पनि बिहीबारको बन्दलाई सफल बनाउन प्रचण्ड-माधव समूहले बुधवार साँझ धरानमा मसाल जुलुस प्रदर्शन गरेका थिए ।

नेकपा धरान उपमहानगरका सह-इन्चार्ज पदम इस्बोले कोण सभालाई सम्बोधन गर्दै बिहीबारको बन्द प्रतिगमन विरुद्धको भएकोले कडा बन्द हुने र बन्दको सबैले साथ दिन अपिल गरेका छन् ।

नेकपा धरान उपमहानगर संघर्ष समिति सहसंयोजक चोत्लुङले बिहीबारको बन्द जनताकै लागि हुने भएकोले सबैले साथ दिएर बन्द धरानमा सफल बनाइने बताए ।