धरान : नेपाली सेनाको उप सेनानी भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाली सेनाको लेफ्टिनेन्ट को दर्ज्यानी चिन्ह सहितको कम्बाइट पोसाक लगाएर आफू नेपाली सेना भएको भन्दै इटहरी बजारमा ११ लाख भन्दा बढी रकम ठगी गर्ने पर्सा जिल्लको ठोरी ५ बस्ने २८ वर्षीय शिवकुमार कार्कीलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख कमल थापाले जानकारी दिए ।

विगत १५ १६ दिन देखी इटहरी बजारमा नेपाली सेनाको उप सेनानी (लेफ्टिनेन्ट) हुँ भनी सर्वसाधारण व्यक्तिहरूलाई रेड मर्करीको व्यापार गर्दा फाइदा हुन्छ ।

यसको व्यापारका लागी आएको, सबै मिलेर गरौँ भनेर विभिन्न व्यक्तिहरूबाट रकम असुल गरी ठगी गर्दै हिँडेको भन्ने विशेष सूचनाका आधारमा इटहरी ६ स्थित सामुदायिक अस्पताल अगाडीबाट उनलाई पक्राउ गरिएको हो ।

रेड मर्करीको व्यापार र यसको फाइदाको प्रलोभनमा विभिन्न व्यक्तिहरूबाट ११ लाख भन्दा बढी रकम ठगी गरेको प्रहरी प्रमुख थापाले जानकारी दिए ।

शिवकुमारको साथवाट नगद ३३ हजार ४ सय ५० र बिभिन्न बैकका एटिएम कार्डहरू, आईएमइ गरेका रसिदहरू, विभिन्न कम्पनीका मोबाइल ४ थान समेत प्रहरीले फेला परेको छ ।

शिवकुमार विरुद्धमा विभिन्न स्थानका १० जना व्यक्तिबाट किटानी जाहेरी समेत परेकोले ठगी मुद्दामा सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सेनाको उप सेनानी बनेर सहयोगी भूमिकामा हिडँने सिन्धुलीको दुधौली ८ बस्ने ३८ वर्षीय वसन्तकुमार खड्कालाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।