धरान स् उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाइमा आगलागी हुँदा चार घर जलेका छन् । 

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालका अनुसार  बिहीबार भएको आगलागीले  स्थानीय भोला चौधरी ,रामेश्वर चौधरी ,अशोक चौधरी र धर्मेन्द्र चौधरीको घर पूर्ण रूपमा जलेको नष्ट भएको छ । 

उनका अनुसार  काठ, टाटीको बेरा र टिनको छानो भएको २ तले घर, घरमा रहेको अन्नपात भाँडा बर्तन, लत्ताकपडा नगद जलेर क्षति हुँदा अन्दाजी ३५ लाखको क्षति भएको छ ।

आगोले कुनै पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । स्थानीयवासी, प्रहरी र दमकलको सहयोग आगो नियन्त्रणमा लिइएको हो । 

आगलागी भएको कुनै  कारण खुल्न नआए पनि गोठमा रहेको कुखुराको खोरमा प्रयोग गरेको भुसमा सुली डढाउन आगो बाल्दा सोही आगो सल्केर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

आगलागीबाट पीडितहरूको सबै जायजेथा जलेको भन्दै तत्काल सहयोगको अपेक्षा गरेका छन् । उनीहरूले सम्बन्धित स्थानीय सरकार, सङ्घ संस्था, व्यक्तिहरूमा सहयोगको अपिल समेत गरेका छन् ।