इटहरी : मालपोत कार्यालय बेलबारीको भवन निमार्णाधिन अवस्थामै भत्किएको छ ।

कार्यालयको नाममा हस्तान्तरण हुन नपाउँदै भवनको पछाडि पट्टीको भाग भत्किन थालेको हो । प्लास्टर उप्किएर गारोको इट्टा समेत बाहिर निस्किन थालेको छ । रंगरोगन गरेर चिटिक्क पारिएका भवनको भित्री भागमा पनि प्लास्टर उप्किन थालेको छ ।

मालपोत कार्यालय बेलबारीका प्रमुख नवीन किशोर अधिकारीका अनुसार एके एन्ड जान्भा कम्पनीले ५ करोड हाराहारीमा निमार्णको जिम्मा पाएको थियो ।

कार्यालयले बारम्बार फलो अप गरे पनि निमार्ण कम्पनी नआएको उनको भनाई छ । निमार्णकार्य पुरा भए पनि कार्यालयको नाममा हस्तान्तरण नभएकोले निमार्णाधिन अवस्थामानै रहेको मानिने उनले बताए ।

कमसल निमार्ण सामग्री प्रयोग गरेर बनाइएको उक्त भवनबाट अहिले मालपोत कार्यालयको कामकारबाही सुरु भएको छ ।

पुरानो कार्यालय साँघुरो भएपछि नयाँ भवनमा कार्यालय सारिएको अधिकारीको भनाई छ । निमार्ण अवधि र बाकी सम्झौताको बारेमा आफू अनभिज्ञ भएको उनले जानकारी दिए । कार्यालयमै पुगेर उनीसँग प्रश्न गर्दा आनाकानी गर्दै केही थाहा नभएको प्रतिक्रिया दिए ।