इटहरी : नेपाली काँग्रेस प्रदेश १ संसदीय दलका नेता राजीव कोइरालाले प्रतिनिधिसभाको पुनर्स्थापना प्रमुख लक्ष्य भएको बताएका छन् । सुनसरीको इनरुवामा आयोजित बिरोधसभालाइ सम्बोधन गर्दै उनले संसद पुनर्स्थापनाको माग राखेर काँग्रेसले वडा स्तर सम्म आन्दोलन चर्काउनुपर्ने बताए ।

नेपाली काँग्रेसका सुभेच्छुक संस्थाले आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले केपी शर्मा ओली नेतृत्वको सरकारले जनमतको अपमान गरेकोले त्यसलाई सच्याउन काँग्रेसले आन्दोलन जारिराख्ने धारणा राखे ।

सुनसरी पार्टी सभापति समेत रहेका कोइरालाले नेपालमा परिवर्तन भए पनि त्यसको कार्यान्वयनको पाटो जहिल्यै कमजोर बन्दै आएको बताए । ओलीले संविधानको बर्खिलाप गर्दै सनकको भरमा देसलाई भड्खालोमा हालेको उनको तर्क छ ।

नेपाल डेमोक्रेटिक लयर्स एसोसिएसनको तर्फबाट बोल्दै कानुन व्यवसायी मणि दुलालले संविधानले नदिएको अधिकार प्रधानमन्त्रीले प्रयोग गरेको भन्दै असंवैधानिक कदमको घोर भर्त्सना गर्नुपर्ने बताए । कुनै तर्क पेस गर्दा पनि संसद विघटन गर्न नमिल्ने उनको भनाइ छ ।

ट्रेड युनियन काँग्रेस केन्द्रीय उपसभापति ज्योति कोइराला संसद पुनर्स्थापना भएन भने संविधान भङ्ग हुने भय रहेको बताए । विधि अनुसार देश चलाउन भए पनि सम्पूर्ण पेसाकर्मीहरू सडकमा आउनुपर्ने उनको भनाइ छ । "अब सडक काँग्रेसको हुनुपर्छ । हामीले मागेको श्रम ऐन र सामाजिक सुरक्षाको कार्यान्वयन हुनुपर्छ । उनले भने, कम्युनिस्टले कहिल्यै जनताको पक्षमा भन्दा सत्ता र शक्तिको लागि मरिहत्ते गर्छ ।"