झापा : झापाको गौरादह नगरपालिकाले पाडाजुँगी गौरीगञ्ज सडक ४ लेनको बनाउन जनप्रतिनिधिहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

गौरादह नगरपालिकाका उपप्रमुख गीता भेटवाल नेतृत्वको टोलीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटेर सडक निर्माणको माग गरेको हो । नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले यो सडकमा सवारीको चाप बढेसँगै सडक चौडा गर्नुपर्ने अवस्था रहेको विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराइएको बताए ।

उक्त टोलीले गौरादहमा रहेको ऐतिहासिक पोखरीको डिपीआर प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेको प्रवक्ता भण्डारीले जानकारी दिए । यो योजना गौरादहको गौरवको योजनाका रूपमा हेरिएको छ ।

यसै गरी स्कूलचौन, गौरादह, ग्वालडुब्बा बजारमा ड्रेन निर्माणका लागि माग गरिएको भण्डारीले जानकारी दिए । यसैबिच, प्रधानमन्त्री ओलीले सडक बिस्तार र पोखरी निर्माण प्राथमिकतामा राखिने आश्वासन दिएको नगर उपप्रमुख गीता भेटवालले बताइन ।

गौरादह प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्र समेत हो । ओलीलाई आफ्नै निर्वाचन क्षेत्रमा पनि विकासे योजनामा विभेद गर्ने गरेको आरोप लाग्ने गरेको छ ।