रङ्गेली : मोरङको रंगेलीमा आयोजित प्रथम नगर स्तरीय तथा खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि 'धरान सी' ले जितेको छ ।

रङ्गेली ब्याडमिन्टन युवा क्लबको आयोजना तथा रङ्गेली नगरपालिकाको आर्थिक सहयोगमा नेपाल बैकको कवडहलमा शनिवार सम्पन्न प्रतियोगितामा धरानलाई २-१ को सेटले हराउँदै 'धरान सी' ले उपाधी जितेको हो ।

मोरङ, सुनसरी र झापाका १६ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेलमा धरानका धन बहादुर लिम्बु र सन्तोष साहुदेनले पहिलो सेट २१-१७ ले जितेको थियो भने दोस्रो सेट 'धरान सी' का सन्तोष खड्का र सुजन श्रेष्ठको टिमले २१-१९ ले जित निकालेको थियो ।

निकै कडा प्रतिस्पर्धात्मक खेलको अन्तिम तेस्रो सेट 'धरान सी' ले एड्भान्टेजमा ३०-२९ ले जित्दै उपाधि चुमेको थियो ।

जित सँगै विजेताले नगद तेह्र हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र हात पारेको छ भने उपविजेता धरानले नगद ७ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र पाएको छ ।

प्रतियोगिताको सेमिफाइनलबाट बाहिरिएको विराटनगर टिमका डिल्लीराम डाँगी र जनम राई तथा 'धरान ए' का सन्तोष लिम्बु र सुरज लिम्बुको टिमले समान १५-१५ सय प्राप्त गरेका थियो ।

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि रहेका रङ्गेली नगरपालिका मेयर दिलीप वगडीया, वडाध्यक्षद्वय रामचन्द्र मण्डल, महानन्द मण्डल, इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख देव पुकार यादव, सामुदायिक सेवा केन्द्र अध्यक्ष मचिन्द्र कटुवाल, वुिद्धजिवी सुरेश मिश्र र समाजसेवी सञ्जीव श्रेष्ठ लगायतले पुरस्कार वितरण गरेका थिए।

कार्यक्रम रङ्गेली ब्याडमिन्टन क्लबका अध्यक्ष ब्रजेश मेहताको सभापतित्वमा सम्पन्न भएको थियो ।