धरान : प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दै छ । गत माघ ७ गते सुरु भएको प्रदेशसभा बैठक १९ दिन पछि आज बस्न लागेको हो ।

प्रदेशसभामा मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव बाहेक अरू विजेनस नभएकाले प्रस्ताव टेबल हुने निश्चित छ ।

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव टेबल हुन नदिने रणनीतिमा नेकपा ओली पक्ष रहेको छ । ओली पक्ष आजको बैठक बस्नै नदिने रणनीतिमा छ ।

नेकपा औपचारिक रूपमा विभाजन नभएकाले प्रदेशसभाको बैठकको औचित्य नभएको नेकपा प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । उनले भने, ‘प्रदेशसभा बैठक चल्न मुख्यमन्त्री राईलाई निलम्बन गरेको कारबाही कार्यान्वयन हुनुपर्ने नभए नेकपा औपचारिक रूपमा विभाजन नभएसम्म पर्खनु पर्छ ।’

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेकाले कसैलाई कुनै किसिमको कारबाही गर्न नपाइने नेकपा दाहाल–नेपाल पक्षका सांसद तथा निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले बताए । उनले अविश्वासको प्रस्तावलाई प्रक्रियागत रूपमा अघि बढाउनुपर्ने बताए ।

काँग्रेसका प्रमुख सचेतक केदार कार्कीले कुनै पनि हालतमा प्रदेशसभा बैठक रोक्न नहुने बताए । अविश्वासको प्रस्ताव संसद्मा टेबल भएपछि काँग्रेसले निर्णय गर्ने उनले बताए ।

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमाथिको छलफल अघि बढाउनका लागि सहमति जुटाई संसद् बैठक सञ्चालनका लागि कार्य व्यवस्था परामर्श समितिको बैठकले टुङ्गो लगाउने भएको छ ।

कार्य व्यवस्था परामर्श समितिको बैठक आज बिहान ११ बजे बोलाइएको छ । बैठकमा अविश्वास प्रस्ताव टेबल गर्नेबारे छलफल हुनेछ । प्रदेशसभा बैठक आज दिउँसो २ बजेका लागि आह्वान गरिएको छ ।