विराटनगर : प्रदेश १ को सातौँ हिउँदे अधिवेशनको दोस्रो बैठक आज दिउँसो २ बजे बस्दैछ ।

मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि बस्न लागेको बैठकको कार्यसूची तयार गर्नका लागि सभामुख प्रदीपकुमार भण्डारीले आज बिहान ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

नेकपा विभाजनपछिको विवादका कारण ७ माघमा करिब ३ मिनेट बसेर बैठक स्थगित भएको थियो ।आइतबारको बैठकमा आफ्नो समूहले कारबाही गरेका १६ जना प्रदेश सभा सदस्यलाई प्रवेश दिए बैठक रोक्ने पक्षमा ओली समूह छ ।

तर मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको प्रचण्ड-माधव समूह आजको बैठकमा अविश्वासको प्रस्ताव टेबुल गर्नुपर्ने अडानमा छ ।

नेकपा प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी कारबाहीमा परेका १६ सांसदलाई बैठक कक्षमा प्रवेश गर्न दिन नमिल्ने बताउँछन् ।

कारबाहीमा परेका प्रदेशसभा सदस्य बैठकमा प्रवेश गरे बैठक सञ्चालन हुन नसक्ने उनले बताए । कारबाही गरिएका सदस्य बैठकमा उपस्थित भए सत्ता पक्षका सांसदले उठेर नियमापत्ति गर्ने उनले बताए ।

प्रचण्ड माधव समूहका प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बो १६ जना प्रदेशसभा सदस्य कारबाहीको च्याप्टर क्लोज भइसकेको बताउँछन् । पहिलो बैठकमा प्रवेश गरेपछि कारबाहीको च्याप्टर क्लोज भएको बताउँदै उनले ओली पक्षको दाबी हास्यास्पद भएको बताए ।

कारबाहीको विषय झिकेर बैठक रोक्न नमिल्ने बताउँदै उनले आज नै अविश्वासको प्रस्ताव बैठकमा टेबुल हुनुपर्ने बताए । ‘बैठकमा अविश्वासको प्रस्ताव टेबल गरिनुपर्छ ।’ उनले भने ‘सरकारले संसदमा प्रस्तावको सामना गर्छ भन्ने विश्वास छ ।’

ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले १६ जना सांसद बैठकमा प्रवेश गर्न रोकिए मात्र संसद्को गतिविधि अघि बढाउनुपर्ने बताउँछन् । निलम्बन गरेका १६ जना बैठकमा प्रवेश गरे बैठक चल्न नसक्ने उनको दाबी छ ।

तेस्रो बैठक कहिले ?
प्रदेश १ का मुख्यमन्त्रीको विवाहका लागि भन्दै १७ दिन स्थगित भएको बैठकमा ओली समूह कडा रूपमा प्रस्तुत हुने सङ्केत देखाएको छ ।

१६ जना प्रदेशसभा सदस्यलाई प्रवेश गर्न नदिने अडानमा रहेको ओली समूहले ७ माघमा प्रदेश प्रमुखले पठाएको पत्र वाचन गरेर बैठक स्थगित गर्ने सहमति भएपछि १६ जनालाई प्रवेश नदिने अडानबाट पछि हटेको थियो । दोस्रो बैठकमा भने आफ्नो पुरानै अडान दोहोर्‍याएको ओली समूहले तेस्रो बैठक पार्टी विभाजनले औपचारिकता पाएपछि राख्नुपर्ने अडानमा छ ।

प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमा उभिने नेपाली काँग्रेसले सङ्केत दिएको छ । अविश्वासको प्रस्तावमा उभिने काँग्रेसको सङ्केत पछि प्रचण्ड–माधव समूह आजकै बैठकमा अविश्वासको प्रस्ताव टेबुल गराएर छलफल गर्नुपर्ने पक्षमा छ । तर ओली समूह भने संसद् बैठक लम्ब्याउने पक्षमा छ ।

आज १६ जनालाई प्रवेश दिइने बैठक रोक्ने र जारी अधिवेशनको तेस्रो बैठक पार्टी विभाजनले औपचारिकता पाएपछि हुनुपर्ने पक्षमा छन् । ‘कारबाहीमा परेका सांसदलाई संसदीय गतिविधिमा सहभागी गराइए अवरोध गर्छौ ।’ ओली समूहका एक सांसदले भने ‘अर्को बैठक पार्टी विभाजनले औपचारिकता पाएपछि राख्न प्रस्ताव गर्छौँ ।’

गत पुस १२ गते मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपा प्रचण्ड–माधव समूहका ३७ नेताले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका मध्ये पाँच जनाले हस्ताक्षर फिर्ता गर्दै ओली समूहमा लागेका छन् ।