विराटनगर : देशभरका १ हजार निजी विद्यालय बन्द हुने अवस्थामा पुगेका छन् ।

कोरोना सङ्क्रमणका कारण लामो समय देखि पठन पाठन रोकिदा करिब १ हजार विद्यालय बन्द हुने अवस्थामा पुगेका हुन् । देशभर मन्टेश्वरी देखि कक्षा १२ सम्म १० हजार निजी विद्यालय छन् ।

करिब १० प्रतिशत विद्यालय बन्द हुने अवस्थामा रहेको निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याव्सन) का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले बताए । उनका अनुसार बन्द हुने निजी विद्यालय बढी काठमाण्डौंका छन् ।

अध्यक्ष पुरीले भने,‘ भाडाको घरमा रहेका विद्यालय बढी मर्कामा परेका छन् ।’ कोरोना सङ्क्रमणका कारण बन्द हुने अवस्थामा पुगेका विद्यालयलाई मर्जरमा लैजानुपर्ने प्याव्सनले निर्णय गरेको छ । विराटनगरमा हिजो सम्पन्न केन्द्रीय समितिको बैठकले बन्द हुने अवस्थामा पुगेका विद्यालयलाई मर्जरमा लगी सरकारसँग सहुलियत माग गर्नुपर्ने निर्णय भएको अध्यक्ष पुरीले बताए ।

निजी विद्यालयको लगानी र रोजगारी गुम्ने भएकाले सरकार समक्ष सहुलियतका लागि पहल गर्नुपर्ने निष्कर्ष निकालिएको उनले बताए । केन्द्रीय समिति बैठकले निजी विद्यालयलाई कोरोनाबाट अति प्रभावितको सूचीमा राख्न माग गरेको छ ।

मौद्रिक नीतिले मध्यम प्रभावितमा समावेश गरिएकाले यसलाई सच्चाएर अति प्रभावितमा राख्नुपर्ने निर्णय गरिएको अध्यक्ष पुरीले जानकारी दिए । उनका अनुसार अति प्रभावितको सूचीमा समावेश भए आगामी असार सम्म बैङ्कको ऋण भुक्तानीका लागि छुट हुने छ ।

मध्यम प्रभावितमा राख्दा आगामी चैत सम्ममा बैङ्क ऋण भुक्तानी गरिसक्नु पर्ने अध्यक्ष पुरीले बताए । उनले भने,‘ मध्यम प्रभावित हुँदा चैत सम्म बैकको ऋण नतिर्ने हर्जना लाग्ने, लिलामी प्रक्रियामा जान सक्छ ।’ लामो समयदेखि विद्यालय बन्द रहेकाले बैक ऋण भुक्तानीमा समस्या रहेकाले अति प्रभावितमा समावेशका लागि माग गरिएको उनको भनाई छ ।

प्याब्सन आगामी चैत मसान्त भित्रमा चालु शैक्षिक सत्र सम्पन्न गर्नेमा प्रतिबद्ध रहेको अध्यक्ष पुरीले बताए । उनले भने,‘ चैत भित्रमा शैक्षिक सत्र सम्पन्न गर्ने सरकारको निर्णय अनुसार हामी प्रतिबद्ध छौँ ।’ उनले कोर्सलाई ७० प्रतिशतमा सङ्कुचन गरिने बताए । उनले भने,‘ अझै पनि कतिपय विद्यालय सञ्चालनमा आयन सकेका छैनन् ।’