झापा : आज बिहान झापाको अर्जुनधारा नगरपालिका ४ स्थित मदनपुरमा एक जना बालिकाको गोबरको खाल्डोमा डुबेर मृत्यु भएको छ ।

राज अधिकारीकी ३ वर्षीय छोरी योजनाको गोबरको खाल्डोमा डुबेर मृत्यु भएको हो । घर नजिकै आमा पूजा अधिकारीसँगै खेतबारीमा खेल्दै पुगेकी ३ वर्षीय योजनाको गोबर ग्यासमा प्रयोग गरिएपछि भण्डारण गरिने गोबरको खाल्डोमा डुबेर मृत्यु भएको प्रहरी चौकी शनिश्चरेले जनाएको छ ।

बिहान ९ बजेतिर प्याज रोप्न आमा बारीमा गएपछि बालिका पनि नजिकै खेल्दै थिइन् । तर, एक छिनपछि बालिका नदेखिएपछि खोजी गर्दा नजिकैको गोबरले भरिएको खाल्डोमा फेला परेकी थिइन् ।

करिब ३ फिट गहिरो खाल्डोबाट निकालेर उपचारका लागि बिर्तामोडको बिर्ता सिटी हस्पिटल पुर्‍याउन साथ चिकित्सकले बालिकालाई मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

घटनापछि इलाका प्रहरी कार्यालय बिर्तामोडको एक टोलीले घटनास्थलको मुचुल्का उठाएको छ भने बालिकाको शव पोस्टमार्टमका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको प्रहरीले जनाएको छ ।