धरान : प्रदेश १ प्रदेश सभाको बैठक फागुन ९ गते सम्मका लागि स्थगित भएको छ ।

मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा टेबल हुने निश्चित भए पछि सत्तापक्षले अवरोध गर्दा बैठक २ मिनेटमै स्थगित भएको हो ।

सत्तापक्षको अवरोधका कारण संसद् बैठक स्थगित हुनु दुखद भएको नेकपा दाहाल-नेपाल पक्षका सांसद तथा निवर्तमान आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले बताए ।

मुख्यमन्त्री शेरधन राईको विरुद्धमा पेस गरिएका अविश्वासको प्रस्ताव टेबुल हुनै पर्ने माग गर्दै नेकपाको दाहाल-नेपाल पक्षले अडान राखेको थियो भने सत्तापक्षले निलम्बित १६ जनालाई प्रवेश निषेध गर्नुपर्ने माग राखेको थियो ।

दुवै मागका विषयमा कार्य व्यवस्था परामर्श समितिको बैठकमा सहमति हुन सकेको थिएन । तर, सभामुख प्रदीपकुमार भण्डारीले ‘नेपालको संविधानको धारा १८८ (४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको प्रदेश नं. १ का माननीय मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वासको प्रस्ताव ऐ नियमावलीको नियम १२९ (४) बमोजिम पेस हुने’ कार्यसूची तय गरेका थिए । दुईपक्षवीच सहमति जुट्न नसक्दा २ बजेका लागि बोलाइएको बैठक ४ बजेसम्म सुरु हुनसकेको थिएन ।

मुख्यमन्त्री राईले संसदीय दलको नेताको हैसियतमा निलम्बन गरिएका १६ जनाको विषय टुङ्गो नलागेसम्म सदन चल्न नसक्ने सत्तापक्षका नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए ।