धरान : नेपाली काँग्रेसका केन्द्रीय सह-महामन्त्री एवं पूर्व मन्त्री सुनिल बहादुर थापाले नेपालको संविधानको कुनै पनि धारामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको बताएका छन् ।

आइतबार स्कुल अफ डेमोक्रेसी नेपाल सुनसरीको पदस्थापन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका थापाले यस्तो बताएका हुन । ‘मैले देखेको, मैले बुझेको संविधानमा ३५ भाग ३०९ धारा र ९ अनुसुचि छ, संविधानको कुनै पनि धारामा प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार दिएको छैन ’ उनले भने ।

प्रधानमन्त्री ओलीले असंवैधानिक कदम चालेको बताउँदै त्यसले देशलाई ठुलो भड्खालोमा लगेको बताए । उनले कम्यूनिष्ट सरकार भ्रष्टचारमा लिप्त भएको आरोप लगाए ।

अन्याय अत्याचार, बलात्कार र महिला हिंसा जस्ता घटनाहरू सबैभन्दा बढी यही सरकारमा को शाशनकालमा भएको बताए । उनले भने, ‘अढाई वर्षको अन्तरालमा नेपालमा लगभग ३ हजारको संख्यामा हत्या, बलात्कार र महिला हिंसा जस्ता घटनाहरू भएका छन् । यीमध्ये २, ४ वटा मात्र केशहरू बाहिर आएका छन् ।’

बधाई तथा शुभकामना दिँदै उहाँले नवगठित कार्यसमितिलाई डेमोक्रेशीको बारेमा अध्ययन तथा अनुसन्धान गर्न आग्रह गरे ।

नेपाली काँग्रेसका नेता एवं पूर्व मन्त्री मीन विश्वकर्माले स्कुल अफ डेमोक्रेसीको अवधारणा ल्याउने मध्ये आफू पनि एक रहेको बताए । यसले प्रजातन्त्रमा विश्वास गर्नेहरूका लागि ऊर्जा थप्ने उनको भनाई थियो ।

विघटित प्रतिनिधिसभाकी संसद् एवं नेतृ मिना सुब्बाले ओली सरकारले प्रतिनिधिसभा विघटन गरेर कु गरेको बताउँदै जनताको मर्म र भावनामाथि खेलबाड गरेको आरोप लगाइन ।

स्कुल अफ डेमोक्रसी नेपालका केन्द्रीय अध्यक्ष नैन सिंह महरले स्कुल अफ डेमोक्रेसी सिक्ने र सिकाउनेहरूको थलो रहेको बताए । प्रजातन्त्रवादी जनताको वृद्धि विकासका लागि स्कुल अफ डेमोक्रेसी नेपाल स्थापना भएको र राजनीतिक अधिकार पाए पनि सामाजिक न्याय पाउन नसकेको भन्दै उनले सामाजिक न्याय र स्वतन्त्रताका लागि डेमोक्रेसीको भूमिका महत्त्वपूर्ण रहने बताए ।

धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले अहिले मुलुक अत्यन्तै प्रतिकुल परिस्थितिका बाबजुद अगाडी बढिरहेको बताउँदै यसले समग्र क्षेत्रमा वितृष्णा तुल्याएको बताए । विषयवस्तुहरू सर्वोच्च अदालतमा विचाराधीन अवस्था रहेका छन्, ‘कुन विषयमा छलफल गर्ने ? कुन विषयमा छलफल नगर्ने ? एकदमै समस्याको रूपमा हामी अगाडी बढिरहेका छौँ ’ उनले भने ।

कार्यक्रममा नेपाली काँग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुरेशमान श्रेष्ठ, नेपाली काँग्रेस सुनसरी जिल्ला सचिव सुजेन्द्र गोले तामाङ, नेपाल तरुण दल धरानका सभापति हिमाल श्रेष्ठ लगायत नेताहरूले बधाई तथा शुभकामना दिएका थिए । कार्यक्रम स्कुल अफ डेमोक्रेसी प्रदेश नं. १ का संयोजक विशाल श्रेष्ठको सभापतित्वमा भएको थियो ।

स्कुल अफ डेमोक्रेसी नेपाल सुनसरीको नव गठित कार्यसमितिको अध्यक्षमा दोर्ची शेर्पा रहेका छन् । उपाध्यक्षमा केशव पुरी, सचिव लघु सुवेदी र कोषाध्यक्ष निर्मला गुरुङ छन् ।

सदस्यहरुमा पारस राई, अशोक मेहता, विकाश सोनु, सागर पोख्रेल, लोकराज बस्नेत, प्रदीप गहतराज, मञ्जु केसी, रुपेश भट्टराई, सङ्गीता राई, विवेक घिमिरे, सविन चौलागाई, नवीन श्रेष्ठ, कुन्दन मण्डल, दिलीप रुवर्णकार, समीर राई, सुगम श्रेष्ठ र मेगाधन राई रहेका छन् ।