धरान : धरान १६ मा पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ ।

आइतबार धरान उपमहानगरका प्रमुख तिलक राई, वडाध्यक्ष दिल कुमार गिरी र सामान्य प्रशासन शाखाका वरिष्ठ अधिकृत गणेश प्रसाद खतिवडा सहितको टोलीले वडा नम्बर १६ स्थित रहेको तत्कालीन धरान उपमहानगर प्रमुख स्व. तारा सुब्बा स्मृति पार्कमा पुगेर रोजगार कार्यक्रम अन्तर्गत छनौट भएका रोजगारदातालाई आवश्यक पर्ने औजार सामाग्रीहरू हस्तान्तरण गरेको हो ।

स्मृति पार्कमा खटिएका ६ जना मजदुरहरूलाई परिचय पत्र, सुरक्षात्मक टोपी, एप्रोन, बेल्चा, गैति नगरपालिका र वडा कार्यालयले सहकार्य गरेर औजार सामाग्री प्रदान गरिएको छ । थप आवश्यक औजार सामाग्रीहरू उपमहानगरपालिकाले आज उपलब्ध गराउने बताएको छ ।

नगर प्रमुख राईले धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत १६ नं. वडामा ६ जनाले काम पाएको बताए । मेयर राईका अनुसार स्मृति पार्कमा खाल्डाहरू खन्ने, वृक्षारोपण गर्ने र सरसफाइ गर्ने भनेर उपमहानगरपालिकाबाट योजना स्वीकृत भएको थियो ।

रोजगारदाताले योजना स्वीकृत भए बमोजिम काम गर्न आइतबारबाट नै सुरु गरेको छ । रोजगार कार्यक्रम अन्तर्गत काम पाएका मजदुरहरूले स्मृति पार्कमा खाल्डा खन्ने, झाडी फाँड्ने र वृक्षारोपण कार्य गर्नेछन् । काम नपाएर बेरोजगार भएर बसेकाको लागि प्रधानमन्त्री रोजगार कार्यक्रमले ठुलो सहयोग पुर्‍याएको नगर प्रमुख राईले बताए ।

धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यस वर्ष १ सय ५७ जनाका लागि एक सय दिनको रोजगारी दिने भनेर बजेट प्राप्त भएको सामान्य प्रशासन महाशाखाका वरिष्ठ अधिकृत गणेश प्रसाद खतिवडाले जानकारी दिए । एक जना रोजगारदाता बराबर ५ सय १७ रुपैयाँ पारिश्रमिक पाउनेछन् ।