इटहरी : नेपाल कम्युनिष्ट पार्टी सुनसरी ओली समूहमा असन्तुष्टि देखा पर्न थालेको छ । लामो समयदेखि ओली समूहमा लागेका कार्यकर्तालाई बाइपास गरेको भन्दै असन्तुष्टि बढेको हो । ओली समूहमा नयाँ प्रवेशीको वर्चस्व हुन थालेपछि नेतृत्व चयन प्रक्रिया परिमार्जन गरिनुपर्ने माग उठ्न थालेको हो ।

तत्कालीन नेकपा एमालेका सुनसरी जिल्ला अध्यक्ष भइसकेका माधव नेपाल समूहका रेवतीरमण भण्डारी ओली समूहको अध्यक्ष भएपछि असन्तुष्टि देखिन थालेको छ । नेपाल समूहबाटै संविधानसभा सदस्य भएका भण्डारी २०७४ को निर्वाचनमा प्रतिनिधिसभाको टिकट नपाएपछी ओली समूहमा लागेका हुन् ।

नेकपा प्रदेश १ इन्चार्ज भीम आचार्यले आफूप्रति अन्याय गरेको भन्दै उनले गुट परिवर्तन गरेका थिए । प्रदेश १ मा मुख्यमन्त्रीको दाबी गरेका आचार्यलाई संसदीय दलमा हराउन भण्डारीले अहम् भूमिका खेलेका थिए ।

नेपाल सँग निकट भए पनि आचार्यको विरुद्धमा लागिरहेका उनी अहिले ओली समूहको जिल्ला अध्यक्ष बनेका हुन् । ओली समूहका पुराना नेता खेम पोखरेल अध्यक्ष बन्ने दौडमा रहेपनि उनी सुकुम्वासी आयोगको जिल्ला अध्यक्ष बनेपछि भण्डारीलाई अध्यक्ष बन्न सहज भएको हो ।

भण्डारी यस अघि ओली टिमबाटै जनता बहुमुखी क्याम्पसको व्यवस्थापन समिति अध्यक्ष चयन भएका छन् । हालको प्रचण्ड नेपाल समूहले गरेको निर्णय उल्ट्याउँदै काँग्रेसको समर्थनमा उनी अध्यक्ष बनेका हुन् । जसको लागी हाल ओली समूहमा क्रियाशील नेताहरूले साथ दिएका थिए ।

भण्डारी अध्यक्ष भएसँगै पुराना ओली पक्षीय कार्यकर्ता भने निराश देखिएका छन् । पार्टी निमार्ण हुन नपाउँदै सुरुमै बाहिर असन्तुष्टि पोख्दा नराम्रो हुने भन्दै गोप्यरुपमा भेटघाटलाई तीव्र बनाएका छन् । युवापुस्तामा नेतृत्व हस्तान्तर नहुने सङ्केत बुझेपछि उनीहरू भेटघाटमा लागेका हुन् । केही समय अगाडी ओली समूहमा युवा पुस्ताको उपस्थिति बलियो हुनुपर्ने माग सहित युवा तथा विद्यार्थी नेताहरूले ३ चरणमा भेला आयोजना गरेका थिए ।

उता भण्डारीले भने पूर्व नेपाल गुटका कार्यकर्तालाई ओली समूहमा ल्याएर आफ्नो उपस्थिति शक्तिशाली बनाउन थालेका छन् । सुनसरीमा एमालेको कुशल संगठकको छाप बनाएका उनले पुरानो समूहलाई आफ्नो पक्षमा पार्न लबिङ सुरु गरेका छन् । सोही क्रममा नेकपाको जिल्ला सदस्य परशुराम यादवलाई ओली समूहको सचिवको बाचा गरेर समूह प्रवेश गराइएको एक नेताले बताए । तर आफ्नो व्यक्तिगत गुट बलियो बनाउन गरिएका बाचा पुरा नहुने एक नेताले कपुरी न्युजलाई बताए ।

ओली समूहको सुनसरी इन्चार्जमा प्रदेश सांसद तथा पर्यटन मन्त्री जगदीश कुशीयतको नाम अघि सारिएको छ । उता भगवती चौधरीले पनि इन्चार्जको दाबी गरी रहेकी छिन् ।

प्रतिनिधिसभा सांसदमा नेपाली काँग्रेसका विजयकुमार गच्छधार सँग पराजीत चौधरी पनि ओली पक्षकी पुरानो नेतृ हुन् । अब चौधरीलाई इन्चार्ज बनाएर उपाध्यक्षमा लिलाम बस्नेत र सचिवमा मुरारी सुवेदीलाई चयन गर्ने गरी प्रक्रिया अगाडी बढाइएको छ । तर विराटनगरमा हुने सभाको इन्चार्ज पनि आफुलाई नै बनाइएकोले जिल्लाको इन्चार्ज पाउने कुरामा शङ्का नभएको चौधरीको भनाई छ । “केही साथीहरू हस्ताक्षर लिएरै हिँड्नु भएको भन्ने सुनिन्छ ।, उनले भनिन्, तर योगदान र इतिहास हेर्दा मेरो विकल्प अरू होलान् जस्तो लाग्दैन ।”

नयाँ बन्दै गरेको पार्टीमा असन्तुष्टि चुलिएको विषयमा आफूहरू गम्भीर भएको प्रदेश १ अध्यक्ष देवराज घिमिरेले बताए । लामो समय देखी योगदान पुर्‍याएका नेता साथीहरूको मागलाई आवश्यकता अनुसार सम्बोधन गरिने उनको भनाई छ ।

सोचेभन्दा पनि ठुलो समूहले आफूहरूलाई साथ दिएको भन्दै सुरुवातमा केही असन्तुष्टि आउनु स्वभावीक भए पनि त्यसलाई नेतृत्व बसेर हल गरिने उनले प्रस्ट पारे ।