धरान : धरान-१४ अष्टभुजा टोलका सुरज केसी धरानमा डेढ दशक देखि बस्दै आएका हुन् ।

लामोसमय सम्म धरानमा बसेर सानो ओतलाग्ने झुपडी त बनाए तर आफैले बिजुलीको मिटर राखेर बिजुली बत्ती बाल्न पाएका थिएनन्। उनले आफ्नै नाममा बिजुलीको मिटर राखेर बिजुली बाल्ने रहर नगरेको भने होइन ।

तर ऐलानी जग्गामा बसोबास भएकोले जग्गाधनी पुर्जा नभएकोले आफ्नो नाममा मिटर राखेर बिजुली बाल्न पाएका थिएनन् । अर्काको घरबाट बिजुली तानेर बालेका थिए ।

आफ्नै नाममा मिटर राखेर बिजुली बाल्न नपाइने रहेछ भनेर दुःखी थिए । तर सोमबार उनको घरमा नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रका कर्मचारी र १४ नम्बर वडाका कर्मचारी मिटर बक्स बोकेर पुगे ।

उनकै नाम र उनकै घरमा मिटर बक्स जडान भयो र आफ्नै नाममा बिजुली बाल्न पाए पछि उनी दङ्ग भएका छन् । उनले भने वडाको जनप्रतिनिधि राम्रो भए र सरकारले पनि हामी जस्तो विपन्न परिवारलाई हेर्दोरैछ भन्दै खुसी व्यक्त गरे ।

धरान उपमहानगरपालिकाको वडा नं. १४ मा अहिले नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्र र १४ नम्बर वडा कार्यालयको समन्वयमा १८ घरधुरी अति विपन्न परिवारलाई निःशुल्क बिजुलीको मिटर जडान गरिँदै छ ।

यही क्रममा धरान-१४ को सरस्वती टोल, नयाँ टोल, गढीडाडा, दुर्गलक्ष्मी मार्ग र अष्टभुजा मार्ग लगायतका अति विपन्न परिवारको लगत सङ्कलन गरी निःशुल्क बिजुलीको मिटर जडान गरिँदै गरिएको १४ नम्बर वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

मिटर जडान गर्दा लाग्ने न्यूनतम शुल्क १ हजार समेत १४ नम्बर वडाध्यक्षले बेहोरिदिएपछि १४ नम्बर वडाका अति विपन्न परिवारका वडावासीहरू बिजुलीको मिटर निःशुल्क जडान गर्न पाएको बताउँछन् ।

धरानका अरू वडाहरू र वराहक्षेत्रको वडानं १ र २ मा पनि अति विपन्न परिवारका करिब २ सय ९९ घरधुरीलाई मिटर वितरण गरी जडान गरिदिएको नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रका प्रमुख प्रताप बरालले बताए ।

त्यही कार्यक्रम अनुसार धरान १४ मा छुटेका अति विपन्न परिवारलाई मिटर वितरण गरी बिजुली जोड्ने कार्य धमाधम भइरहेको प्रमुख बरालले बताए ।

धरानमा ४ सय ५० थ्रि फेज स्मार्ट मिटर बक्स जडान

नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रले धरानमा थ्री फेजबाट विद्युत उपभोग गर्ने ४ सय ५० ग्राहकहरूलाई स्मार्ट मिटर बक्स निःशुल्क जडान गरिएको छ ।

स्मार्ट मिटर बक्स जडान गरिसकेपछि मिटर रिडिङ गर्न ग्राहकको घर सम्म गईराख्नुनपर्ने र ग्राहकलाई मोबाइलमा विद्युतको महसुल शुल्कको बारेमा जानकारी दिनेछ ।

सोही अनुसार ग्राहकले समयमै विद्युत महसुल बुझाउनुपर्ने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र धरानका प्रमुख प्रताप बरालले बताए ।

उनका अनुसार ग्राहकले महसुल नबुझाएको खण्डमा प्राधिकरणले ग्राहकको घरमा नपुगी आफै बिजुली काट्न सक्नेछ । तर अहिले नै यो सेवा सुचारु हुने छैन । सफ्टवेयर अपडेट भइरहेकोले यो सेवा सुचारु हुन केही समय लाग्ने प्रमुख बरालले बताए ।