धरान : विराटनगर-५ स्थित न्युरो अस्पताल नजिकमा रहेको एक घरबाट नेपालमा प्रतिबन्धित गरिएको १० लाख भन्दा बढिको औषधीहरू प्रहरीले बरामद गरेको छ ।

विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले आईताबार बेलुका साढे ६ बजे राम प्रसाद साहको घरमा डेरा गरी बस्ने विकाश मण्डल र उनको भाइ विक्रम मण्डलको कोठामा खानतलासी गरेको थियो ।

खानतलासी गर्ने क्रममा उनीहरूको कोठाबाट Inj amidon , Inj paracetamol, Inj desrim  लगायतका ७९ ब्राण्डका नेपालमा प्रतिबन्धित रहेका १० लाख ३ हजार १ सय ८० रुपैयाँ बराबरको औषधीहरू पेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रहरीले कोठाबाट औषधीमा टाँस्न प्रयोग गरिने स्टिकर बनाउने एचपी कम्पनीको कलर प्रिन्टर समेत फेला पारी बरामद गरेको छ भने कोठामा रहेका विक्रम मण्डललाई नियन्त्रणमा लिएको छ ।

यसरी बरामद गरिएको औषधी र पक्राउ परेका विक्रम मण्डललाई आवश्यक कारबाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।