धरान : धरान-३ स्थित चिनियाँ चौकदेखि चौबिसे समाज सम्म निर्माण हुने जल्पा रोड तथा ढल निर्माणको शुभारम्भ गरिएको छ ।

जल्पा रोड तथा ढल निर्माणको प्रदेश एकका प्रदेशसभा सदस्य चन्द्र प्रसाद श्रेष्ठ, धरान उपमहानगरका प्रमुख तिलक राई र सोही वडाका वडाध्यक्ष आशा कुमार श्रेष्ठले विधिवत् रूपमा पूजा गरेर संयुक्त रूपमा सोमबार शुभारम्भ गरेका हुन् ।

नगर गौरवको योजना अन्तर्गत परेको जल्पा रोड तथा ढल निर्माणको सम्झौता ०७७ माघ २२ गते भएको थियो । ठेकेदार कम्पनीसँग ०७८ माघ २२ गतेभित्रमा निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ । सडक ३ सय ९० मिटरको छ ।

उक्त सडक नगर गौरवको आयोजना अन्तर्गत २ करोड ३७ लाखमा ठेक्का लागेको हो । सडक तथा ढल निर्माणको ठेक्का भूमि-स्वामी नारायण जेभीले लिएको छ । ड्रेनसहित ३० फिट चौडाइ भएको कालोपत्रे सडक बन्नेछ ।

प्रदेश सभा सदस्य चन्द्रप्रसाद श्रेष्ठले लामो समयपछि सडक निर्माण हुन लागेको भन्दै यस सडकले वडा नं. ३ को सुन्दरता बढाउने बताए ।

धरान उपमहानगर प्रमुख तिलक राईले धरान उपमहानगरपालिको नगर गौरवको योजना अन्तर्गत जल्पा रोडको शुभारम्भ गरिएको बताए । ठेकेदारले आफ्नो जिम्मेवारी असल नियतका साथ निर्वाह गर्नुपर्ने बताउँदै अरू समस्याहरू ठेकेदार, कन्ट्रयाकटरलाई सहजीकरण गर्न गाह्रो हुने बताए ।

उनले भने, ‘उहाँहरूलाई त आफ्नो कामसँग मतलब हुन्छ, जति हामीले सहजीकरण गर्दियौ, त्यति नै कामको दायरा चाडोचाडो अघि बढ्छ ।’ मेयर राईले ठेकेदार कम्पनीलाई समयमै काम सम्पन्न गर्न आग्रह समेत गरे ।

वडाध्यक्ष आशा कुमार श्रेष्ठले उक्त सडक ८ वर्ष अगाडी बनेको बताउँदै त्यहाँदेखि यता बाटो नबनेको बताए ।

जल्पा रोड अन्तर्गत मानिसहरूलाई आवतजावत गर्न समस्या हुने गर्दथ्यो । अहिले पनि समस्या कायमै छ । सडक तथा ढल निर्माणको कार्य समयमै सम्पन्न हुने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे । आफ्नो वडामा जनप्रतिनिधिको हैसियतले गर्नु पर्ने काम गरिरहेको उनले बताए ।

बाटो निर्माणमा वादविवाद नहोस् भनेर सहजीकरण गर्नका लागि सात जनाको समिति समेत गठन गरेको जनाएको छ ।