धरान : सरकारले खोलाजन्य वस्तु निकासीमा रोक लगाए पनि धरान-५ देउराली स्थित सेउती खोलामा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा निकासी तीव्र बनेको छ ।

खोलामा जथाभाबी ढुङ्गा उत्खनन गरेकै कारण साना मजदुर देखि लिएर नेता तथा ठुला क्रसरका व्यापारी फस्टाउँदै गए पनि धरान उपमहानगर भने करौडौ घाटा बेहोर्न बाध्य छ । खोलाको जग्गा बस्ती बनाएर बेच्नेले झन् उपमहानगरपालिकाको आय आर्जनको बाटो बन्द गरेका छन् ।

यस विषयमा नगरपालिकाले चालू आर्थिक वर्षको २०७७/७८ असार महिनामा टेन्डर खोलेर ठेक्का दिनुपर्ने तर, ढिलासुस्ती बेवास्ता गर्नाले अहिले आएर तस्करहरूले जथाभाबी उत्खननले गरेको वडा नं ५ का वडाध्यक्ष सन्तोष लिम्बूले बताए ।

धरान-५ देउराली ७० प्रतिशत डाँडाकाँडाले ढाकिएको छ । त्यहाँको कुल जनसङ्ख्या मध्ये ९० प्रतिशत मानिस सुकुम्वासी रहेको बताउँदै लिम्बूले भने यहाँका सबै जनता अशिक्षित, बेरोजगारी, उत्पादनजन्य खेतीपाती तथा उद्योगहरू केही पनि नभएकाले ५० प्रतिशत जनताले खोलामा ढुङ्गा बेचेर गिट्टी कुटेर जीवन चलाउँदै आएका छन् । प्रहरीको जनशक्ति पनि ठाउँ अनुसार कम छ । त्यसैले यहाँ नदीजन्य ढुङ्गा गिट्टी बालुवाको तस्करी निकासी बढ्यो ।

सेउती खोलामा ढुङ्गा गिट्टी बालुवाको अवैध निकासी र बिक्री भइरहेको सम्बन्धमा धरानका मेयर तिलक राई नगरपालिकाले ठेक्का नलगाएको भन्दैमा स्थानीयले खोलामा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गर्न नहुने बताउँछन् ।

Gitti-kutdai-Balak

नेता र व्यापारीहरूले आफूहरू नदेखिने गरी गरिबी, दुखीलाई हामी के गरेर खानु रोजगार छैन भन्न लगाएर विद्यार्थी अपाङ्ग र वृद्धलाई पनि ढुङ्गा गिट्टी तस्करीमा प्रयोग गराएर पैसाले मुख बन्द गराएको मेयर राईको भनाई छ । उनले भने 'पैसाका लोभमा आज ती बस्तीका बालबालिका विद्यालय जान छाड्ने अवस्थामा छन् ।'

सोमबार साँझपख अस्थायी प्रहरी पोस्ट धरान वडा नं ५ का पदम बहादुर खड्काको कमान्डमा खोला अनुगमन गर्न जाँदा गिट्टी कुटिरहेका मानिसले प्रहरी देखे पछि खोलामा बालुवा चालिरहेका हरू बालुवा चाल्ने जाली बेल्चा बोकेर भागेका थिए । अन्य साथीहरूलाई पनि भाग्न सङ्केत गरेका थिए ।

तस्करी नियन्त्रणका लागि प्रहरी र उपमहानगरपालिकाको योजना

सरकारले खोलाजन्य वस्तु निकासीमा रोक लगाए पनि धरानको सेउती खोलामा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा निकासी तीव्र बनेको विषयमा सुनसरीका प्रहरी प्रमुख कमल थापाले कपुरी न्युजसँग भने, खोला आसपासमा उच्च निगरानी बढाएर धरानका सेहरा, अँधेरी र सर्दु खोलाबाट हुने अवैध उत्खनन र तस्करी नियन्त्रणकाका लागि प्रहरीको छुट्टै विशेष टोली बनाएर २ देखी ३ जना राख्ने बताए ।

खोलामा कडाइ गर्दै नदीजन्य पदार्थको अवैध तस्करी रोक्न प्रहरीले आफ्नो ध्यान केन्द्रित गरेको र अति संवेदनशील भएर उपमहानगरपालिकालाई सहयोग गर्ने पनि उनले बताए ।

जति पटक पक्राउ परे पनि तस्करीमा प्रयोग भएको साधनलाई जरिवाना भने एउटै तिराइन्छ । त्यसैले अवैध उत्खनन र तस्करी वस्तुको नियन्त्रण चुनौतीपूर्ण बन्ने विश्लेषण गर्दै अबको दिनमा जरिवाना बढाउनु पर्ने थापाले बताए ।

तस्करी गरेर ढुङ्गा गिट्टी र बालुवा ओसार्ने एउटा ट्याक्टरलाई १० हजार रुपैयाँ जरिवाना गरिरहँदा पनि खोलाबाट भइरहेको नदीजन्य पदार्थको तस्करी नियन्त्रणमा आउन नसकेकाले छलफल गरेर अब २० देखी २५ हजार सम्म जरिवाना लिने समेत नगरपालिकाले जनाएको छ ।

उत्खनन र तस्करी बन्द, हडताल र विरोध सभाको बेला बढी

खोलामा सबै भन्दा बढी खोलाजन्य बस्तुको उत्खनन र तस्करी बन्द,हडताल र विरोध सभाको बेला बढी हुने गरेको पाइएको छ ।

स्थानीयका अनुसार यस्ता कार्यक्रममा शान्ति सुरक्षामा प्रहरी व्यस्त हुँदा त्यहीँ मौकामा ढुङ्गा गिट्टी अत्यधिक निकासी भएको र खोलाबाट खोलाजन्य वस्तुको तस्करी बढी हुने गरेको स्थानीयहरू बताउँछन् ।

Gitti-Baluwa