विराटनगर : प्रदेश १ का अस्पतालमा कोरोना संक्रमित शून्य भएका छन् ।

कोरोना अस्पताल तथा निजी अस्पतालमा अहिले कुनै पनि संक्रमित उपचाररत छैनन् । सामाजिक विकास मन्त्रालयका अनुसार अस्पतालमा सङ्क्रमितको सङ्ख्या शून्य छ ।

हाल २० जना सक्रिय संक्रमित छन् । उनीहरू सबै होमआईसोलेसनमा छन् । मन्त्रालयका अनुसार झापामा ३, मोरङमा ४, सुनसरीमा ११, खोटाङमा १ र प्रदेश १ बाहिरका १ जना संक्रमित छन् ।

प्रदेश १ का १० जिल्ला कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त भएका जिल्लामा उदयपुर, धनकुटा, भोजपुर, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, इलाम, पाँचथर, ताप्लेजुङ र ओखलढुङ्गा रहेका छन् ।

उदयपुरमा ४९७ संक्रमित मध्ये ८ जना, धनकुटामा २१५ जना संक्रमित मध्ये ११ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैसरि सङ्खुवासभामा ३४६ संक्रमित मध्ये १, तेह्रथुममा १२३ संक्रमित मध्ये ४, इलाममा ४८२ संक्रमित मध्ये ७, पाँचथरमा १४८ मध्ये १, ताप्लेजुङमा १२० संक्रमित मध्ये २ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

भोजपुरमा ८९ जना, सोलुखुम्बुमा ३७ र ओखलढुङ्गामा ४७ संक्रमित भएका छन् । तीन जिल्लामा कोरोना सङ्क्रमणबाट कसैको पनि मृत्यु भएन । प्रदेश १ मा सोमबार साँझ सम्म ३० हजार १६० जनामा कोरोना सङ्क्रमण भएका छ । संक्रमित मध्ये ४६५ जनाको मृत्यु भएको छ ।

प्रदेश १ मा २५ हजार बढीलाई कोभिड १९ विरुद्धको खोप लगाइएको छ । सोमबार साँझ सम्म २५ हजार ७१८ जनालाई खोप लगाइएको छ । पहिलो चरणको खोप लगाउने क्रम जारी नै रहेको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए ।

पहिलो चरणमा सरकारी र निजी अस्पतालका स्वास्थ्यकर्मी, स्वास्थ्यका कर्मचारी र सरसफाइकर्मी गरी ३५ हजार ५७६ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ ।