धरान : प्रदेश १ को विभिन्न स्थानबाट प्रहरीले ब्राउनसुगर, गाँजा लगायतका लागुऔषध सहित ११ जना पक्राउ परेका छन् ।

झापाको दुई छुट्टाछुट्टै स्थानबाट ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ७ गैह्रीगाउँबाट मेचीनगर नगरपालिका ६ का २४ वर्षीय सुरज खड्कालाई २ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

यसै गरी सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका ६ बाट स्थानीय २८ वर्षीय प्रकाश लिम्बुलाई १८ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । पक्राउ परेका दुवै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यसै गरी उदयपुर र सुनसरीका विभिन्न स्थानबाट लागुऔषध ट्याब्लेट र ठुलो परिणामको गाँजा सहित सोमवार दिउँसो ९ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले सोमवार बेलुका ५ बजेको समयमा त्रियुगा नगरपालिका ६ जलजलेबाट त्रियुगा नगरपालिका १ का ३२ वर्षीय विदुर अधिकारी, त्रियुगा नगरपालिका १४ का २६ वर्षीय कुमार मगर, त्रियुगा नगरपालिका १३ का २५ वर्षीय सागर चौधरी र सुनसरीका २५ वर्षीय अभिसेक जसवाललाई लागुऔषध ट्याब्लेट सहित पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले डाइजेपाम १९ एम्पुल, फेनारागन १९ एम्पुल, लुपिजेसिक १९ एम्पुल र २ वटा सिरिन्ज बरामद गरेको छ ।

यसै गरी उदयपुरकै त्रियुगा नगरपालिका १२ बाट स्थानीय १५ वर्षीय बालक लागुऔषध सहित पक्राउ परेका छन् । उनको साथबाट प्रहरीले फेनारगन २ एम्पुल, नोरफिन २ एम्पुल र डाईजेल्याप २ एम्पुल बरामद गरेको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । यस्तै उदयपुरकै कटारी नगरपालिका ८ बाट ठुलो परिणामको गाँजा सहित तिन जना पक्राउ परेका छन् ।

सोमवार दिउँसो इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले बेतनीबाट कटारी तर्फ आउँदै गरेको स १ च ८०४ नम्बरको पिकअपलाई रोकेर जाँच गर्ने क्रममा उक्त पिकअपबाट १२१ केजी गाँजा बरामद भएको थियो ।

गाँजा बरामद भएसँगै गाडीमा सवार रहेका ताप्ली गाउँपालिका ३ का ४१ वर्षीय सन्त बहादुर मगर, चालक २१ वर्षीय हेम बहादुर मगर र शम्भु मगर समेत गरी तिन जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

यसै गरी भोजपुरको हतुवागढी गाउँपालिका ६ घर भई धरान उप महानगरपालिका १३ मा डेरा गरी बस्ने ३४ वर्षीय गुमान राई सवा २ केजी गाँजा सहित पक्राउ परेका छन् ।

राईले आफ्नै घर कोठामा गाँजा भण्डारण गरी बेचबिखन गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले राईलाई २ केजी २७० ग्राम गाँजा सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका उनीहरूको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।