इटहरी : इटहरी विराटनगर लाइनमा रहेको श्री लक्ष्मी भाडा पसल पुग्दा पसल सञ्चालक सुरज ताम्राकार पसलका भाडा सफा गरिरहेका थिए । अचेल सडकको धुलो पसलमा छिरेपछि बिहानै देखी धुलो बढार्नमै व्यस्त हुन्छन् उनी । धुलोको कारण ग्राहक आउन छाडेपछि दिनभरि धुलो मै रुम्हलीन बाध्य छन् सुरज ।

विराटनगरको रानी देखी धरान सम्म ६ लेन सडक बिस्तार अन्तरगत इटहरीको मुख्य चौकमा काम सुरु भएको ६ महिना भयो । लामो समय हुँदा समेत काम नसकिएको भार र असर सुरज जस्ता व्यापारी र व्यवसायीलाई परिरहेको छ ।

सुरजको जस्तै समस्या छ सुभाष अग्रवालको पनि । विराटनगर लाइनको चोकैमा सिद्धकाकी इम्पोरीयमका सञ्चालक उनी पसलमा राखेको कपडा बिग्रिएर हैरान भएको सुनाउँछन् । ‘२ महिना भित्र सिद्ध्याउने भन्ने सुनेको थिए । ६ महिना भइसक्यो अहिलेसम्म आधा काम पनि भएको छैन । अब कति दिन सास्ती भोग्नुपर्ने हो ? उनले भने, कपडामा धुलो लागेर फ्याल्नुपर्ने अवस्था आइसक्यो । एकातिर ग्राहक आउँदैन आएका पनि धुलो देखेर फर्किन्छन् ।’

कपडा र भाडा पसलमा मात्र हैन सुन पसलमा पनि त्यस्तै समस्या छ । तयार पारिएका गहनामा धुलो लाग्ने र कतिपय सामाग्री पुन:निमार्ण गर्नुपर्ने अवस्था सृजना भएको बताउँछन् न्यु शुभ लाभ ज्वेलर्सका सञ्चालक विजय श्रेष्ठ । धुलो अस्तव्यस्त निर्माण कार्यले ग्राहक नआउने र आए पनि धुलो देखेर फर्किने गरेको अग्रवालको जस्तै अनुभव सुनाउँछन् उनी ।

६ लेन सडक बिस्तारको काम ढिला भएको र धुलो नियन्त्रण नभएको भन्दै सोमबार स्थानीयले सडक अवरुद्ध समेत गरे । आधा घण्टा चक्काजाम गरेका उनीहरूले नियमित पनि हाल्नुपर्ने र चाँडो सडक निर्माण सक्नुपर्ने माग राखेका थिए । ८० वटा सुन पसल, १५० कपडा पसल, ४० वटा भाडा पसल सहित १ हजार बढी व्यापारी त्यसको प्रत्यक्ष मारमा परेका छन् ।

Itahari-Dhulo-1
पार्किङमा राखिएको सवारी साधनमा देखिएको धुलो

इटहरी चौक देखी साथी पेट्रोल पम्पसम्मको ठेक्का पाएको टुडी रमन जेभीले स्थानीयको अवरोधको कारण काम गर्न सकेको छैन । सर्वोच्च अदालतले मुआब्जा दिएर मात्र घर भत्काउन आदेश दिएसँगै निर्माणको काम अलपत्र परेको हो ।

बजार क्षेत्रमा पूर्वपट्टि सय मिटर मात्र क्लियर भएकोले बाकी काममा अवरोध भएको रानी विराटनगर इटहरी धरान सडक आयोजनाका प्रमुख बद्री प्रसाद शर्मा बताउँछन् । सरकारले मुआब्जा दिन सक्ने अवस्था नभएकोले अदालतको आदेश पालना गर्दा सडक बिस्तारको काम अवरोध आएको उनले सुनाए ।

बाँकी क्षेत्रमा धमाधम काम भइरहेकोले केही महिना भित्रै निर्माण सम्पन्न भइसक्ने उनको भनाई छ । इटहरी र दुहबी चोकमा भने स्थानीयको अवरोधको कारण काम हुन नसकेको उनले बताए । खानेपानी तथा सरसफाइ डिभिजन देखी बिधुत प्राधिकरणलाई पनि आवश्यक पैसा भुक्तानी भइसकेको उनले जानकारी दिएका छन् ।