धरान : सुनसरी नापी कार्यालयलाई आधुनिक बनाउन डिजिटल प्रणालीमा रूपान्तरण गर्न पुराना नक्सा विवरणहरूलाई ट्रेस कम्प्युटर गरिएको छ ।

केही समय अघिसम्म अस्तव्यस्त रहेका जग्गा नापका नक्सा तथा दस्ताबेजलाई कम्प्युटरमा राख्न नापी कार्यालय सुनसरीले डिजिटल प्रणाली अपनाएको सुनसरीका प्रमुख नापी अधिकृत सञ्जीवकुमार साहको भनाई छ ।

उनी भन्छन् हामीले कार्यालयलाई प्रविधि मैत्री बनाउँदै लगेका छौ डिजिटल बन्दा कर्मचारीहरू र सेवाग्राहीलाई दुवैलाई सहज हुँदै गएको छ । आन्तरिक तालिम गराएर अब डिजिटल मैत्री काम गर्न सक्ने उनी बताउँछन् । डिजिटल बनेपछि पहिले ३ घण्टा लाग्ने नक्सा र ट्रेसको काम अहिले थोरै समयमा हुने साहको दाबी छ ।

अहिले जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकाका रेकर्डहरू कम्प्युटरमा राखेर नापीका दस्ताबेजलाई डिजिटल बनाउने अभियान चलिरहँदा यस कार्यालय पनि डिजिटल प्रणालीमा रूपान्तरण भएको हो ।

थोत्रा नक्सा लथालिङ्ग नक्साहरू कम्प्युटरमा भेटिन थालेको कारण सेवाग्राहीहरूलाई निकै सहज भएको छ । पुरानो नापी कार्यालयको परिचय फेरिँदै छ । सेवाग्राहीले काम लिँदै गए पछि क्रमशः शतप्रतिशत कम्प्युटर हुने उनको भनाइ छ ।

जनतासँग प्रत्यक्ष सरोकार राख्ने नापी कार्यालयसँग जोडिएका धेरै जनगुनासालाई न्यूनीकरण गर्न यो कामको सुरुवात गरिएको अधिकारीहरू बताउँछन् । नापी कार्यालयलाई डिजिटल कार्यालय बनाइएपछि त्यहाँ पुग्ने सेवाग्राहीहरू समेत मक्ख हुने गरेका छन् ।

हाल कार्यालयले गतिविधि निगरानीमा राख्न सिसी क्यामरा जडान गरेको छ । डिजिटल बने सँगै नापी कार्यालयमा हुने बिचौलियाको बिगबिगी समेत केही हद सम्म हटेको छ । नापी कार्यालयमा अनियमितता हुने र सर्वसाधारणलाई दुःख दिने गरेको गुनासो आउने हुँदा क्यामरा जडान गर्नुको साथै डिजिटल प्रविधिबाट काम थालिएको छ ।

नापी कार्यालयले कार्यालय समयमा सेवाग्राहीलाई सहज बनाउन व्यवस्थापन गरिरहेको कार्यालयले जनाएको छ । हातले कित्ताकाट गर्दा कहिलेकाहीँ मानवीय त्रुटि हुने भए पनि सबै कम्प्युटर भएपछि यकिन नाप नक्सा आउने हुँदा यथाशक्य छिटो सबै कम्प्युटर गर्ने काम भइरहेको छ ।