धरान : धरानमा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । धरान उपमहानगरपालिकाको वडा नम्बर २० बाट सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रम धरानको वडा नं. १६ मा सञ्चालनमा आइसकेको छ भने मङ्गलवार देखि धरानको वडा नं. १७ मा सुरु भएको छ ।

रोजगार कार्यक्रम अन्तर्गत छनौट भएका रोजगारदातालाई धरान उपमहानगरका मेयर तिलक राई, सामाजिक शाखाका वरिष्ठ अधिकृत गणेश प्रसाद खतिवडा, कार्यवाहक वडाध्यक्ष सुवास बर्देवासहितको टोलीले आवश्यक पर्ने औजार सामाग्रीहरू हस्तान्तरण गरेका छन् ।

१७ नं. वडामा रोजगार कार्यक्रम अन्तर्गत ५ जना छनौट भएका छन् । उनीहरूलाई ३ थान हँसिया, २ थान दाउ, बुट, टोपी, पन्जा र एप्रोन प्रदान गरिएको वडा कार्यालयले जानकारी दिएको छ ।

उनीहरू धरान १७ स्थित रहेको सप्तरङ्गी पार्कमा झाँडी फडानी गर्ने र रुख तथा बोट बिरुवाको हाँगा काट्ने, पार्कको सौन्दर्यकरणको काम दिइएको छ । उनीहरूले मङ्गलवार वाट काम गर्न सुरु गरेका छन् । दैनिक रूपमा प्रतिव्यक्ति एक जनाले ५ सय १७ रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

मेयर राईले धरान को २० नं. वडाबाट थालिएको प्रधानमन्त्री रोजगार कार्यक्रमले यस वर्ष धरानमा केही परिवर्तन ल्याउन सक्ने बताए । उनले १७ नं. वडा सहित अहिले २१ जनाले रोजगारी पाएको बताए ।

यो वर्ष रोजगार कार्यक्रम अन्तर्गत धरान उपमहानगरका १ सय ५७ जनाले एक सय दिनको लागि काम पाउने उपमहानगरले जानकारी दिएको छ ।

छनौट भएकाहरूलाई निरन्तर सय दिन खटेर आफ्नो जिम्मेवारी, कर्तव्य र अधिकार पुरा गर्न मेयर राईले आग्रह समेत गरेका छन् ।