धरान : काठमाण्डौमा आयोजना हुन लागेको अन्डर २३ बास्केटबल प्रतियोगितामा सहभागी हुन जाने धरानका बास्केटबल खेलाडीहरूलाई बुधवार बिदाइ गरिएको छ ।

धरान १२ स्थित हिमालयन मेघा कलेजको प्राङ्गणमा बिदाइ कार्यक्रमको आयोजना गरी धरान बास्केटबल सङ्घ र मेघा कलेजले संयुक्त रूपमा खेलाडीहरूलाई बिदाइ गरेका हुन ।

उनीहरूलाई नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, सुनसरी बास्केटबल सङ्घ अध्यक्ष नारायण सुवेदी र मेघा कलेजका विविएस कोअर्डिनेटर चन्द्र वनेमले खँदा र टिका लगाएर बिदाइ गरेका हुन ।

धरानको प्रतिनिधित्व गर्दै धरान वाट व्रदस बास्केटबल टिमले सहभागिता जनाउनेछन् । क्वेस्ट इन्टरनेट कलेज काठमाण्डौको आयोजनामा फागुन २ गते देखि सुरु हुने प्रतियोगितामा धरानको व्रदस टिमबाट सुजन राईको कप्तानीमा आसिस लिम्बु, कविन मगर, विसालहाङ राई, मौसम राई, जोमन राई, सर्वधन राई, सुसन श्रेष्ठ, अभिमान राई, सन्तोष राई र सुसन राजवंशीले सहभागिता जनाउने छ ।

धरान व्रदस टिम बिहीबार काठमाडौँ प्रस्थान गर्ने टिम कप्तान सुजन राईले जनाए । बिदाइ कार्यक्रममा चियापान सँगै कलेजले बाटोमा खेलाडीहरूलाई खाजा खानका लागि भन्दै नगद तिन हजार रुपैयाँ समेत प्रदान गरेका छन् ।

कार्यक्रममा केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, जिल्ला अध्यक्ष नारायण सुवेदी र कलेजका विविएस संयोजक चन्द्र वनेमले खेलाडीहरूलाई जितको शुभकामना दिएका थिए ।

कार्यक्रममा हिमालयन मेघा कलेजका एकेडेमिक डाइरेक्टर अर्जुन घिमिरे, फाउन्डर मेम्बर जीवन न्यौपाने, दीपेन्द्र यादव, पत्रकार देवेन्द्र कार्की, कलेजका विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।