धरान : धरान उपमहानगरपालिकाले धरान नगर भित्रको अव्यवस्थित बजारलाई व्यवस्थित बनाउने क्रममा आज सार्वजनिक बाटो मिचेर बिक्रीको लागि राखिएका ८० वटा पसलका सामानहरू हटाएको छ ।

धरानको उपमहानगरका मुख्य बजार क्षेत्रहरू निकेतन गल्ली, चिनियाँ चोक , माछाभौडी र घण्टाघर पछाडिका बजारहरूमा फुटपाथ मिचेर बिक्रीको लागि राखिएका ८० वटा पसलका सामानहरू हटाएको हो ।

उक्त क्षेत्रमा २० जना व्यापारीको दोकान समेत दर्ता नगर सञ्चालन गरेको पाइएको धरान धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले जानकारी दिए । उनले भने कति पय दोकानमा गिफ्ट दोकान लेखेर भाँडा तथा लुगा पसल समेत गरेको पाएकाले तत्काल सबैलाई दर्ता गर्ने लगाएको बताए ।

व्यापारीहरूले ड्रेनमाथि र फुटपाथसमेत मिचेर सामानहरू राख्दा फुटपाथ तथा सडक साँघुरिएको, भिडभाडले दुर्घटना समेत भएको, तथा अनावश्यक संरचनाहरूले धरानको सुन्दरता कुरूप बनेको, र आपत्कालीन अवस्थामा वारुणयन्त्र र एम्बुलेन्स समेत छिर्न गाह्रो भएकाले व्यवसायीलाई सम्झाएर सामान तथा संरचना धरान उपमहानगरपालिकाले हटाउन थालेको हो ।

’हाम्रो धरानलाई राम्रो धरान बनाऊ’ भन्ने अभियान सफल पार्न मेयर तिलक राई स्तरीय निर्णय भए अनुसार यो अभियान सुरु भएको हो । हरेक दिन बिहान ११ बजे देखि नगर प्रहरी टोलीले बजार व्यवस्थापन गर्ने कार्यमा बेलुका ६ बजेसम्म खट्ने गरेको छ ।

फलोअपमा आउँदा अटेरी गरेको खण्डमा सामान जफत गर्ने चेतावनी दिँदै हिजो मङ्गलवार देखि सुरु भएको अभियान ७ दिनको रहने छ । हालसम्म धरानमा २ सय ८० पसलले सडक अतिक्रमण गरी व्यापार गरेको पाइएको छ । भने ४० पसल दर्ता बिना सञ्चालनमा आएको पाइएको छ ।