धरान : इटहरी-१७ मा हिजो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना सामान्य घाइते भएका छन् ।

मृत्यु हुनेमा उदयपुर बेलका नगरपालिका-९ का ५४ वर्षीय राजेन्द्र चौधरी रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ क ३४११ नम्बरको टिपरले सोही दिशातर्फ जाँदै गरेको को ३८ प ५७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ ।

सोही टिपरले विपरीत दिशाबाट आउँदै गरेको को ३५प ७६१० नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ बेलबारी-८ का ३८ वर्षीय होमनाथ बास्कोटा र पछाडि सवार इटहरी–८ का ३७ वर्षीय नगेन्द्र अधिकारी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते भएकाको उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन र टिपर चालक सुनसरी रामधुनी नगरपालिका-३ का ३५ वर्षीय सलमकुमार सरदार प्रहरी नियन्त्रणमा रहेका छन् ।