धरान : धरान-६ पानवारीमा दिउँसो घरमै बसेकी एक वृद्धाको सुनको गहना लुटिनुको साथै घाँटी रेटेर हत्याको प्रयास भएको छ ।

आज दिउँसो १ बजे तिर घरमै बसिरहेकी ७५ वर्षीय बृद्धा जसमाया लिम्बुले लगाएको गहना माडवारी लगायतको सुनको गहना लुटिनुको साथै उनलाई घाटीको अगाडी भागमा धारिलो हतियारले रेटिएको छ । 

लिम्बुले लगाएको सुनको गहना २ तोला लुटिएको इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी ज्ञानेन्द्र बस्नेतले जानकारी दिए । दिउसो लुटपाट गरी घाटी रेटिएकोले घाइते बृद्धाको तत्कालै उपचारको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको छ । 

घाँटी अगाडिबाट चक्कुले रेटिएर शक्त घाइते भएकी लिम्बुको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यो समाचार तयार पार्दा सम्म अप्रेसन भइरहेको डिएसपी बस्नेतले बताए । घाइते बोल्ने नसक्ने अवस्थामा रहेको पनि प्रहरीले जनाएको छ । घटनामा प्रयोग भएको चक्कु भेटिएको छ ।

भने घाँटीबाट निस्किएको रगत सुँघाएर अनुसन्धानको लागी धरान स्थित सङ्घीय प्रहरी इकाई कार्यालयबाट ट्रयाकर डग घटनास्थलमा लगेर अनुसन्धान सुरु गरिएको छ ।

कुकुरले जङ्गल तिर अपराधी गएको सम्म सङ्केत गरेको छ । अहिले सम्म प्रहरीले कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।