धरान : पक्राउ परेको पाँच घण्टा पछि प्रहरीले नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई रिहा गरेको छ ।

राज्यविरुद्धको कसुरको आरोपमा पक्राउ परेकी झाँक्रीलाई प्रहरीले सामान्य सोधपुछपछि बिहीबार साँझ रिहा गरेको हो । प्रहरीले झाँक्रीसँग राष्ट्रपतिलाई लक्षित गरी गोरखामा दिएको अभिव्यक्तिबारे जानकारी लिएको छ । झाँकी पक्राउ विरोधमा विभिन्न क्षेत्रबाट चर्को विरोध र सरकारको आलोचना भएको थियो ।

नेकपा दाहाल नेपाल समूह निकट युवा विद्यार्थीले विरोध प्रदर्शन गरेका थिए । झाँक्रीलाई पक्राउ गर्नु नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै विभिन्न राजनीतिक दल र नेताहरूले सरकारको आलोचना गरेका थिए । नेतृ झाँक्रीलाई बिहीबार दिउँसो आफ्नै निवासबाट प्रहरीले पक्राउ गरेको थियो ।

नेतृ रामकुमारी झाँक्रीले चौतर्फी दवावका कारण सरकार आफूलाई रिहा गर्न बाध्य भएको बताएकी छन् । अपराध महाशाखाबाट रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै झाँक्रीले यस्तो बताएकी हुन् । झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र सरकार तानाशाहको बाटोमा हिँडेको भन्दै अभिव्यक्ति स्वतन्त्रता कुनै हालतमा कुण्ठित नहुने पनि दावी गरिन् । उनले आफूहरुले अहिलेको लडाइँ जित्ने पनि दावी गरिन् ।