धरान : पाँचौँ राष्ट्रिय होराईजन बास्केटबल कप प्रतियोगिता यही चैत्र १४ देखि १६ सम्म हुने भएको छ।

प्रदेश नम्बर एकको एक मात्र राष्ट्रिय बास्केटबल प्रतियोगिता हरेक साल होराईजन क्लब धरानको आयोजनामा, धरान-१७ समाज हङकङको मुख्य प्रयोजनमा र धरान उपमहानगरपालिकाको संयोजनमा सम्पन्न हुँदै आएको प्रतियोगितामा यस वर्ष काठमाडौँ, पोखरा, धरान, इटहरीबाट ८ वटा समूहहरूले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ। 

प्रदेश नं १ बाट छनौट प्रतियोगिता मार्फत आएका पाँच वटा समूहहरू, होराईजन क्लब धरान, ईमोर्टल क्लब धरान, ब्रदर्स क्लब धरान, तरहरा बास्केटबल क्लब इटहरी र युवा जागृति क्लब धरानले प्रतियोगितामा सहभागिता जनाउने साथै काठमाण्डौबाट दुई समूह र पोखराबाट एक समूह गरी आठ वटा समूहहरूको सहभागिता हुने आयोजकले जानकारी दिएको छ । 

प्रतियोगितामा सहभागी हुने आउने काठमण्डौ र पोखराको समूहहरूलाई  खान बस्न लगायत समुहदर्ता शुल्क समेत नलिने आयोजक क्लबका सदस्यले बताए । उनले नेपालमा आयोजना हुने खुल्ला बास्केटबल प्रतियोगिताहरूमा हराईजन क्लब धरानले मात्र यस प्रकारको सुविधा प्रदान गर्दै आएको बताए।

प्रतियोगितामा प्रथमलाई पचास हजार, दोस्रोलाई पच्चिस हजार र तेस्रोलाई पन्ध्र हजार पुरस्कार राशि राखिएको छ । त्यस्तैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई दस हजार र नव-प्रतिभा पुरस्कार पाँच हजार समेत रहेको आयोजकले बताएको छ ।

खेलकुद सम्बन्धी जनजागरण सोध लेख लेख्ने खेलकुद पत्रकारलाई समेत हरेक साल सात हजार दोसल्ला र प्रशंसा पत्रले सम्मान गर्दै आएको, साथै खेलसँग सम्बन्धित त्यस्ता साहसिक एवम् असाधारण प्रतिभा भएको व्यक्तिलाई पनि हरेक साल दस हजारले सम्मान गर्दै आएकोमा गत साल सगरमाथा महिला आरोही महिला देउराली चाम्लिङ लाई सम्मान गरिएको थियो ।

आयोजक क्लबले हरेक वर्ष धरान १७ मा रहेको  श्री घोपा मा.बि.लाई दस हजार बराबरको शैक्षिक सामग्रीहरु प्रतियोगिता समापनको दिन प्रदान गर्दै आएको आयोजकले जानकारी दिएको छ।

गत वर्ष चैत्र महिनामा आयोजना गर्न लागिएको  प्रतियोगिता कोरोनाका कारण रोकिएको थियो। धरान-१७ स्थित होराईजन क्लबको खेल मैदानमा प्रतियोगिता सम्पन्न हुनेछ । 

२०५१ सालमा स्थापित होराईजन क्लब धरानले राष्ट्रिय बास्केटबल प्रतियोगिता लगायत विभिन्न खेलकुद, सामाजिक, सांस्कृतिक, शैक्षिक लगायत पर्यावरण सम्बन्धी कामहरू गर्दै आएको हराईजन क्लब धरानले जानकारी दिएको छ।