पथरी : नेकपा विभाजनको प्रभाव क्रमशः स्थानीय तहमा समेत देखिन थालेको छ ।

नेकपाभित्र नेता माधवकुमार नेपाल-पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष ओली पक्षमा ध्रुवीकरण देखिन थालेको छ । एकतापछि बनेको पार्टी-नेकपाका प्रदेश कमिटीमा रहेका युवराज बास्कोटा र रामकुमार बस्नेत भरखरै निर्मित ओली पक्षका केन्द्रीय सदस्य बनेका छन् भने देवराज भण्डारी पनि ओली पक्षमै खुलेका छन् । 

संविधानसभा सदस्य रहेका लालबहादुर सुस्लिङ्ग मगर, गीता तिम्सिना र विनीता घिमिरे प्रचण्ड-माधव समूहमा खुलेका छन् । पार्टी सम्बद्ध भारत प्रवासको कामबाट राजनीतिक वैचारिक हिसाबले एउटा भिन्न परिचय सहित उठेका बास्कोटा र अखिलको आन्दोलनबाट आएका बस्नेत पूर्व एमाले हुन् भने भण्डारी नयाँ शक्ति हुँदै नेकपामा आएका हुन् । मगर, तिम्सिना र घिमिरे पूर्व माओवादी केन्द्रका हुन् । 

साबिक एमाले हुँदै एकतापछि पनि पार्टीको मोरङ जिल्ला सदस्य रहेका संविधानसभा सदस्य चण्डीप्रसाद राई, पथरी शनिश्चरे नगरका नगरप्रमुख दिलीपकुमार राई, जिल्ला सदस्य टङ्क भण्डारी, दिननाथ तिम्सिना र नेत्र पोखरेल  माधव-प्रचण्ड समूहमा खुलेर लागेका छन् । राई द्वय र भण्डारी पूर्व एमाले हुन् भने तिम्सिना र पोखरेल पूर्व माओवादी हुन्  । 

जिल्ला सदस्यहरू मोहन तुम्बापो, भगतचन्द्र थपलिया, देवीमाया काफ्ले, विजय डाँगी, परशुराम मिश्र, जीवन खतिवडा अध्यक्ष ओली समूहमा खुलेका छन् । 

पार्टी एकता प्रक्रियासँगै आशातीत सक्रिय देखिएका जिल्ला सदस्य तुम्बापो पार्टी विभाजनपछि पनि लामो समयसम्म मौन रहे । पछिल्लो समय उनलाई सङ्घीय सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोगको मोरङ सदस्य बनाएको छ । प्राप्त जिम्मेवारीमा इमान र निष्ठासाथ लाग्ने तुम्बापो अहिले पार्टी र भूमिसम्बन्धी  काममा लागेका छन् । 

पथरी शनिश्चरे नपाकी उपमेयर यमुना विष्ट बास्तोला नेकपा अध्यक्ष ओली समूहमा देखिएकी छिन् भने वडा नम्बर १ का अध्यक्ष बाबुराम ऐङदेन ओली समूहमा यसका राजनीतिक वैचारिक पक्षमाथि खुलेर बहसमा उत्रिएका छन् ।

वडा नम्बर-२ का अध्यक्ष यामनाथ गुरागाईँ, वडा नं.-३ का अध्यक्ष डम्बर चेम्जोङ्ग, वडा नं.-७ का अध्यक्ष कपिलमणि ढकाल र वडा नं.-९ का अध्यक्ष भानुभक्त राई त यतिखेर नेकपा माधव-प्रचण्ड समूहमा यस समूहको आन्दोलनअन्तर्गत काठमाण्डौं पुगेर खुलेका छन् । तर केही वडा अध्यक्षले नगरपालिका को विशेष कामले काठमाण्डौं आए पनि आन्दोलनमा सहभागी नभएको तर्क छ ।

पूर्व माओवादीका डाँगी, मिश्रलगायतले ओली समूहमा खुल्दा पूर्व एमालेको ठुलो पङ्क्ति माधव-प्रचण्ड समूहमा देखिएको छ । 

पूर्व माननीय र मेयर समेत माधव-प्रचण्ड समूहमा देखिए पनि विगतमा तिनको अनुदार व्यवहार र आज खुलेको राजनीतिक-वैचारिक बहसको मियोभित्र देखिएको पद प्रतिष्ठा प्राप्तिको लडाइँ र यसमा नेतृत्व अल्झिएका कारण स्वार्थभन्दा माथि उठ्न सकेको कार्यकर्ताको बहुसङ्ख्यक पङ्क्ति आफूहरूसँग रहेको केन्द्रीय सदस्य बास्कोटा बताउँछन् । 

युवा सङ्घ भने पूर्ण रूपमा विभाजित नभएको युवा सङ्घका जिल्ला सदस्य मणि लिम्बु बताउँछन् । विभाजनको असर देखिए पनि युवा सङ्घमा कुनै असर नदेखिएको लिम्बुको भनाइ छ । भातृत्व अभिवृद्धि गरी स्वच्छ, सुखी र समुन्नत नगर निर्माणको दिशामा अगाडि बढ्न  समेत मेयर राईले आग्रह गरेका छन् ।