धरान : अखिल नेपाल फुटबल सङ्घ एन्फाको आयोजनामा भइरहेको अण्डर-१३ उमेर समूहको खेलाडी छनौट अन्तर्गत सुनसरीबाट ३५ जना छानिएका छन् ।

अखिल नेपाल फुटबल सङ्घ एन्फा सुनसरीले इटहरी-९ स्थित जनता स्कुलको मैदानमा बिहीबार र शुक्रवार गरेको छनौट कार्यक्रमबाट ३५ जना अण्डर-१३ खेलाडीहरू छानिएका हुन् ।

एन्फा सुनसरी अध्यक्ष केशव कार्कीका अनुसार १ सय २५ जनाको समूहबाट ३५ जना छनौट गरिएको हो । जिल्ला छनौटका लागि सहभागी भएका १ सय २५ जना खेलाडी धरान, इटहरी, दुहबी, इनरुवा र बराहक्षेत्रबाट छनौट भएर आकामध्येका हुन । जिल्लाबाट छनौट भएका ३५ जना खेलाडीले प्रदेश छनौटका लागि प्रतिस्पर्धा गर्न पाउने छन् ।

छनौटमा सहभागीहरूको जन्म दर्ताका साथै खेल प्रदर्शन हेरेर मात्र खेलाडी छनौट गरिएको एन्फा सुनसरीका प्रशिक्षक श्याम मानन्धरले बताए । अण्डर-१३ मा सहभागी हुनको लागि २०६५ असोज १५ देखि २०६६ असोज १५ गतेभित्र जन्मिएको हुनुपर्ने प्रावधान थियो । सहभागीहरूलाई समूह-समूह बनाएर प्रतिस्पर्धा गराइएको मानन्धरले जानकारी दिए ।

एन्फाले २०७८ साल देखी क्लबहरूसँग सहकार्य गरेर एकेडेमी सञ्चालन गर्ने भएको छ । ए डिभिजन क्लबहरूले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नको लागि एएफसी लाइसेन्स लिनुपर्ने हुन्छ । लाइसेन्स प्राप्त गर्नको लागि एकेडेमी सञ्चालन गर्नुपर्ने मापदण्ड छ ।

त्यसैले एन्फाले क्षेत्र, जिल्ला, प्रदेश हुँदै राष्ट्रिय छनौटबाट छानिएका उत्कृष्ट बाल खेलाडीहरू ती क्लबले सञ्चालन गर्ने एकेडेमीमा पठाउनका लागि खेलाडी छनौट थालिएको एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले बताए ।

विभागीय टोली त्रिभुवन आर्मी, सशस्त्र र जनपथ प्रहरी र केही ए डिभिजन क्लबहरूले पनि एकेडेमी राख्ने तयारी गरेका छन् । ती एकेडेमीमा यो छनौट कार्यक्रमबाट छानिएका उत्कृष्ट खेलाडीहरू रहने छन् ।