इटहरी : वैदेशिक रोजगार विभागले इटहरीमा सञ्चालित एक दर्जन मेनपावर कम्पनीमा शुक्रबार छापा मारेको छ। यसक्रममा दुई वटा मेनपावर कम्पनी बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।

अवैध रुपमा शाखा सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा विभागले मेनपावर कम्पनीहरूमा छापा मारेको हो।

विभागका अनुसार इटहरीको एचआर मेनपावर कम्पनी र मेमोरियल मेनपावर कम्पनीमा शिलबन्दी तथा शाखा बन्द गरिएको छ।

विभागका महानिर्देशक कुमार दाहालका अनुसार एचआर मेनपावर कम्पनीको शाखा बन्द गरिएको छ भने मेमेरियल कम्पनीमा शिलबन्दी गरिएको छ।

ती दुबै मेनपावर कम्पनीबाट विभागले हालसम्म प्रयोग गरिएका काजगात, कामदारहरूको सूचीलगायतका महत्वपूर्ण काजजात जफत गरिएको छ।

अवैध रुपमा शाखा सञ्चालन गरी ठगी गरेको सूचनाका आधारमा विभागले इटहरीमा टोली पठाएको थियो।

इटहरीमा थुप्रै मेनपावर कम्पनीका अवैध शाखा सञ्चालन भइरहेको पाइएपछि टोली पठाएको र टोलीले कारबाही थालेको महानिर्देशक दाहालले बताए।

‘अन्य केही मेनपावर कम्पनीको कार्यालयहरू हाम्रो निगरानीमा छन्, हामीले अपरेसनलाई जारी राखेका छौं,’ दाहालले भने।

विभागका अनुसार शुक्रबार १२ वटा मेनपावर कम्पनीका शाखाहरूमा छापा मारी कागजात जफत गरिएको छ।

विभागले छापा मारेपछि केही मेनपावर कम्पनीका शाखाहरू सटर लगाएर भागाभाग भएका छन्। तथापि, विभागले ती मेनपावर कम्पनीहरूमाथि निगरानी गरिरहेको छ।

‘हाम्रो अपरेसन जारी छ, केही मेनपावर कम्पनीहरू सटर लगाएर भागेका छन्, ती कम्पनीहरूमा हामी जाँदैछौं,’ दाहालले सेतोपाटीसँग भने।

अवैध रुपमा काठमाडौंमा सञ्चालन भइरहेका मेनपावरमा निगरानी बढाएपछि ती मेनपावर कम्पनीले देशका विभिन्न ठाउँमा गएर लुकिछिपी गतिविधि गरिरहेको पाइएको दाहालले बताए।

सुनसरीमा सञ्चालित मेनपावरहरूमा छापा मार्न जाँदा विभागले त्यहाँको स्थानीय प्रहरी र प्रशासनसँग समन्वय गरेको थियो।

‘अवैध गतिविधि गर्ने मेनपावर बन्द गराउने हाम्रो अभियान जारी छ,’ महानिर्देशक दाहालले भने, ‘वैदेशिक रोजगारीका नाममा खोलिएका मेनपावर र त्यसमाथि कारबाही तीव्र छ।’

https://www.setopati.com/ बाट