धरान : स्थानीय जनप्रतिनिधि सुविधा भोगी हुँदै गएको बेला उदयपुरको कटारी नगरपालिकाकी उपप्रमुख भीमकुमारी राउतले उदाहरणीय काम गरेकी छिन् ।

उनले आफ्नो लागि गाडी किन्ने पैसाले जनताका लागि  एउटा एम्बुलेन्स खरिद गरेकी छिन । आफ्ना लागी गाडी किन्न विनियोजित रकमबाट नगरवासीका लागि एम्बुलेन्स खरिद गरेकी हुन । 

राउतका अनुसार कार्यपालिकाले नगर सभा मार्फत उपप्रमुखको सुविधा तथा सवारी खरिद गर्न ४० लाख छुटिएको थियो । सोही रकम बाट १० लाख एम्बुलेन्स खरिद गरेको हो । एम्बुलेन्स नगरपालिका आइपुगेको छ ।

उनले भनिन् 'एम्बुलेन्समा आवश्यक सिट बेड थप, कार्यविधि बनाएर, एम्बुलेन्स नम्बर लिएर र इन्सुरेन्स  गराएर सकिएको र अव अस्पतालमा हस्तान्तरण गर्न बाँकी रहेको छ।' आवश्यक सिट बेड थप गर्न र इन्सुरेन्स गर्न  थप २ लाख लागेको उनले बताइन् ।  

अन्य बाँकी विनियोजित रकमबाट दुर्गम भागमा गर्भवती महिलाको स्वास्थ्य परीक्षण गर्न भवन बनाउने  तथा महिला बालबालिका तथा अशक्तको सेवा सुविधामा खर्च गर्ने बताइन् । उनले बिरामी, महिला, बालबालिका तथा विपन्नलाई अस्पताल लैजान सवारी नपाउँदा कतिपयले अकालमै ज्यान गुमाउनु परेकाले आफू विलासितामा रमाउन नसकेकाले एम्बुलेन्स खरिद गरेको बताइन् । 

उनले भनिन्, ‘जनताको करबाट आफू बिलासी सुविधा लिन्न भन्दै एम्बुलेन्स किन्ने घोषणा समेत गरेकी थिए, अहिले एम्बुलेन्स नै  किने । ’ उनले भनिन्‘   कार्यालयमा गाडी भइरहँदा हामीले लाखौँको गाडी चढ्ने अवस्था छैन भन्ने लागेर जनता गरिबीको रेखामुनि छन्, खान पुग्ने अवस्था छैन अनि गरिबीका कारण घरमै सुत्केरी हुने अवस्था छ । त्यसैले जनताले उपचारका लागि एम्बुलेन्स प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले एम्बुलेन्स खरिद गरेकी हुँ उनले भनिन् ।