धरान : उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ गाईघाटको शिवालय टोलमा एक दम्पती माथि आक्रमण हुँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमतीको अवस्था गम्भीर रहेको छ ।

शिवालय टोलमा रहेको दम्पतीको घरको माथिल्लो तलाको कोठा भित्र ६५ वर्षीय वीरेन्द्र राई मृत अवस्थामा भेटिएका छन् भने उनको श्रीमती ५२ वर्षीय रिता राई गम्भीर घाइते अवस्थामा घर बाहिर करेसाबारीमा फेला परेकी थिइन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक एसपी भीम दाहालका अनुसार हत्याको आशङ्का गरिएको छ ।

घरको माथिल्लो तलाको कोठामा राई मृत फेला परेका र उनको शरीरभरि विभिन्न स्थानमा नीलडाम र चोट रहेको प्रहरीले जनाएको छ । यस्तै मृतककी श्रीमती रिता राईको पनि मुखमा विष दलिएको र बेहोस अवस्थामा घर नजिकै करेसाबारीमा फेला परेकी थिइन् । उनलाई तत्काल उद्धार गरी उपचारका लागि विराट नर्सिङ होम विराटनगर पठाइएको प्रहरी प्रमुख दाहालले जानकारी दिए ।

प्रहरीका अनुसार राईलाई केही व्यक्तिहरूका समूहले आएर राति नै हत्या गरेको हुनसक्ने र उनकी श्रीमतीलाई पनि विष खुवाएर बेहोस बनाई बारीमा फालेर छाडेको हुनसक्ने प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरेको छ । घटनास्थलबाट केही विषका बट्टाहरू पनि फेला परेको बताइएको छ ।

घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । मृतकको शव यो समाचार तयार पार्दा सम्म घटना स्थलबाट उठाइएको छैन । मृतकको छोरा र छोरी आउँदै गरेकोले शव नउठाइएको प्रहरीले बताएको छ । घटना स्थलमा गम्भीर अवस्थामा भेटिएकी रिता राईको स्वास्थ्य अवस्था सामान्य उन्मुख भएको पनि प्रहरीले बताएको छ ।

दुई तले पक्की घरमा राई दम्पती माथिल्लो तलामा बस्दै आएका थिए भने मुनि तलामा भाडामा दुई जना बस्दै आएका थिए ।