धरान : एक वर्षअघि आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सहमतिमै शारीरिक सम्पर्क भएको हो जबरजस्ती हैन भन्दै सुनसरी अदालतले सफाइ दिएको छ ।

अदालतको १ नं न्यायाधीश अर्जुनप्रसाद कोइरालाको ‘बेन्च’ले सिद्धबाबा र अनुयायीबिच सहमति मै शारीरिक सम्बन्ध भएको प्रमाणका आधारमा बलात्कार हुन नसक्ने भन्दै सफाइ दिएका हुन् ।

करिब २ महिना लगाएर माघ २९ गते बिहीबार कोइरालाले तयार पारेको फैसलाको पुर्णपाठमा जाहेरवाली महिलाले नै सिद्धबाबासँग गुरु र शिष्यको सम्बन्ध तोडेर वा मोहित भएर आफ्नो शरीर समर्पण गरेको उल्लेख छ । पूर्ण पाठमा सहमतिमा भएको करणीलाई जबरजस्ती करणी भन्न नमिल्ने उल्लेख छ ।

७६ पृष्ठ लामो आदेशको पूर्ण पाठमा करणी भएको समयलाई विभिन्न कोणबाट अदालतले व्याख्या गरेको छ । पटक पटक महिलाले नै यौन सम्बन्धका लागि आव्हान गरेपछि सिद्धबाबा मोहित भएको र महिलाले यौन सम्बन्धका बारेमा मोबाइल म्यासेजमा गरेका कुरालार्ई अदालतले सफाइको आधार तथा प्रमाण बनाएको छ ।

आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सिद्ध बाबा भनिने कृष्णबहादुर गिरीलाई थुनामै राख्न सर्वोच्च अदालतले आदेश दिएको १० दिनमै जिल्ला अदालत सुनसरीले भने पुन प्रमाण पेस गरी सफाइ दिएको हो ।

सत्य बोल्न सिकाउने सिद्ध बाबाका झुटा बयान
सिद्धबाबाले घटनापछि आफ्ना भक्त भोला बरालको फोनबाट एक घण्टा २० मिनेटसम्म पीडितसँग माफी मागेको अडियोमा “म बाट एक पटक गल्ती भो माफ पाऊँ, अब त्यसो हुँदैन, त्यसो भो भने लिङ्ग नै काटेर फाल्दिन्छु“ भन्न सम्म भ्याएको अडियो रेकर्ड आफ्नो नभएको कसैले नक्कल गरेको सरकारी वकिलसँग पनि बयानमा दिए । त्यसपछि अनुयायीको आग्रहमा आफूले करणी नगरे पनि धर्म रक्षाका लागि माफ मागेको घुमाउरो रूपमा बयान फेर्दै गिरीले अदालतमा उक्त आवाज आफ्नो भएको स्वीकार गरेका थिए ।

पेस भएको उक्त फोन संवादको अडियोमा भएको आवाज प्रतिवादीकै हो भन्ने देखिएको अवस्थामा जाहेरवालीसँग यौन सम्पर्क नराखेको भए त्यसरी माफी मागी बोल्नुपर्ने कुनै कारण देखिँदैन भनी फैसलामा व्याख्या छ । यसबाट पेस भएका म्यासेन्जर कुराकानी पनि जाहेरवाली र प्रतिवादीबिच नै भएका रहेछन् भनी सहज ढङ्गबाट अनुमान गर्न सकिने भई निजहरूबिच वारदात भनिएको राति यौन सम्पर्क भएको तथ्य स्थापित भएको उल्लेख छ ।

बयानका क्रममा सिद्धबाबाले आफू आगो र स्त्री स्पर्श नगर्ने त्रिदण्डी सिद्ध बाबा भएको करणी गरेको आरोप मिथ्या भएको जिकिर गरेका थिए ।

तर, पशुपति सिद्ध महायोग नामक फेसबुक आइडीबाट धेरै पटक ’लभ साइन’ पठाएको अनुसन्धानका क्रममा खुलेको थियो । यी दुई जना बिचको फेसबुक म्यासेन्जर च्याटलाई समेत पूर्ण पाठमा उल्लेख गरिएको छ ।

फेसबुक म्यासेन्जरसँगै करणी भएको दिन सिद्ध बाबाले चलाउने ९८५२०२५८८५ नम्बरबाट पठाएका म्यासेजमा प्रेमासययुक्त भएकाले सम्बन्ध भएको पुष्टि हुने फैसलामा छ ।

त्रिदण्डी सिद्धबाबाको नामले प्रसिद्धि कमाएका तथा हजारौँ अनुयायी मार्फत ठुलो धार्मिक अखडा चलाएका प्रतिवादीलाई उक्त सम्बन्ध बाहिर आउँदा मात्रै गम्भीर असर पर्ने भएकाले त्यसलाई ढाकछोप गर्ने थुप्रै प्रयत्न भएका मिसिलमा देखिन्छन् । उनले सफाइ पाए पछि उनलाई फोन गरेर मन्त्री तथा केही प्रमुखले बधाई पनि दिएका छन् ।

२०७६ पुस १४ थुनछेक बहसपछि गिरीलाई जिल्ला अदालतका तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले ३ लाख धरौटीमा छोड्ने निर्णय गरेको थियो ।