इटहरी : अवैधानिक म्यानपावर सञ्चालन गरेको भन्दै शुक्रवार वैदेशिक रोजगार विभागले इटहरीमा छापा हान्यो ।

सोही क्रममा अवैध कारोबार गरिरहेको एचआर म्यानपावर कम्पनीको शाखा बन्द गराइएको थियो भने मेमोरीयल म्यानपावर कम्पनी सिलबन्दी गरिएको छ । विभागले १२ वटा म्यानपावरको कार्यालय छापा हानेर कागजात जफत गरेको छ ।

इटहरीमै मात्र सय बढी म्यानपावर सञ्चालनमा छन् । तर ती मध्ये ८ वटा मात्र वैदेशिक रोजगार विभागबाट स्वीकृत प्राप्त रहेका छन् । गत बुधवार इटहरीको इन्टन प्यालेसमा विदेश जान आतुर युवाहरूको भिडनै लागेको थियो । सय जना कामदार माग भएको कतारमा १ हजार युवाले अन्तरवार्ता दिएका थिए ।

त्यसमध्ये अधिकांशले व्यक्तिगत दलाल र अवैध मेनपावरलाईं पैसा बुझाइसकेका थिए । अन्तरवार्तामा छनौट भएकाहरू पनि मोटो रकम दिने तयारीमा छन् । फ्री भिसा फ्री टिकट अन्तरगत कतार जान लागेका उनीहरू बाट दलालले रकम उठाइरहेका छन् ।

सप्तरी कञ्चनपुरका विजयकान्त चौधरीले उनका छिमेकीलाई ऋण लिएर २ लाख बुझाए । राम्रो कमाई हुने सुनेका उनी निकै उत्साहित हुँदै अन्तरवार्ताको लागी इटहरी पुगे । तर उमेर हदको कारण उनी गेटबाटै बाहिरिए । त्यसपछि उनी रिसाउँछन् । त्यही झोकमा गाली गर्दै उनी भन्छन्, ‘......मुला काम नहुने भए पहिले नै किन भनेन । पैसा खाएपछि यत्रो दुख किन दियो रु पखोस् तेसलाई गाउँमा पुगेपछि मैले जानेको छु ।’

‘क्लिनर’ कामको लागी कतार पुर्‍याइदिने भन्दै उनका छिमेकीले २ लाख रुपैयाँ लगेको २ हप्ता भयो । बिहानै देखी छिमेकीमा मोबाइल अफ छ । अन्तरवार्ता दिन पुगेको विजयकान्त उमेर हदको कारण गेटबाटै बहिरीनुपर्यो । उनी घर फिर्ता भए तर छिमेकी दलालले पैसा कहिले फिर्ता गर्छन् त्यसको कुनै ठेगान छैन ।

विराटनगरका अजय चौधरीले पनि चिनजानका दाइलाई १ लाख बुझाइसकेका छन् । भिसा लाग्ने ग्यारेन्टी भएर आएका उनी अन्तरवार्तामा छनौट हुनै सकेनन् । कसैले सोध्यो भने १० हजार भन्दा एक रुपैयाँ पनि बढी नदिएको भन्नु भन्दै पठाएका दाइले मोबाइल रिसिभ गर्नै छाडेको उनी सुनाउँछन् ।

प्रभु म्यानपावरबाट कतार जान लागेका बलिराज चौधरीले ५० हजार तिर्ने सर्त गरेका छन् । लागतको बारेमा जानकार नभएका उनी कतार जान पाउने भएपछि ५० हजार तिर्न राजी भएका हुन् ।

इटहरीका म्यानपावर सँग सम्पर्क बढाएका दलालहरूले गाउँबाट पैसा उठाउँदै युवाहरू ठगी रहेका छन् । वैदेशिक रोजगारी व्यवसायको केन्द्र मानिएको इटहरी ठगहरूको हब बनेको छ ।

जुपीटर ओभरसीजका मालिक तथा वैदेशिक रोजगार व्यवसायी सङ्घ सुनसरीका वरिष्ठ उपाध्यक्ष दुर्गा थापा जथाभाबी पैसा उठाउन नपाइने बताउँछन् ।

यो गैर कानुनी कामबाट धेरै युवहरुको भविष्य बिग्रिएको उनले बताए । मनपरी दलाली गर्ने काम भइरहेकोले अवैधानिक काम गर्ने दलालहरूले गर्दा म्यानपावर व्यवसायको बदनाम भएको उनको भनाई छ ।