धरान : आज देखि सरकारले दोस्रो प्राथमिकतामा रहेकाहरूलाई कोरोना विरुद्धको खोप लगाउदैछ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देखि फागुन ८ गतेसम्म जिल्लास्थित सबै सरकारी कार्यालयका कर्मचारी, सार्वजनिक संस्थान तथा बैङ्कका कर्मचारी, पत्रकार र स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूलाई खोप दिन लागेको हो ।

सरकारले पहिलो प्राथमिकतामा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्वास्थ्य स्वयंसेवक, एम्बुलेन्स तथा शव वाहन चालक, सीमा सुरक्षामा खटिएकाहरूलाई खोप उपलब्ध गराएको थियो ।

यसैबिच आज देखि प्रदेश १ मा पनि कोरोना विरुद्धको खोप दोस्रो प्राथमिकतामा रहेकाहरूलाई लगाईदैछ । सुनसरीको १२ स्थानीय तहमा आज देखि खोप अभियान सुरु भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरी जिल्लामा ७ हजार १ सय ६६ जनालाई लक्षित गरेर खोप अभियान सुरु गरिएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले जानकारी दिएका छन् । उनका अनुसार सुनसरीको १२ स्थानीय तह मध्ये धरान उपमहानगरपालिकामा भने भोलि सोमबार देखि मात्रै खोप अभियान सञ्चालन हुनेछ ।

सुनसरीमा काहाँ कति जनालाई खोप लगाईदैछ ?
सुनसरीको १२ वटै स्थानीय तहमा दोस्रो प्राथमिकतामा परेकाहरूलाई कोरोना विरुद्धको खोप लगाईदैछ ।

इनरुवा नगरपालिमा जिल्ला अस्पतालबाट २५ सय, धरान उपमहानगरपालिकामा पुरानो अस्पताल छाता चौक धरान स्वास्थ्य चौकीबाट १६ सय, इटहरी उपमहानगरपालिकामा इटहरी अस्पतालबाट १२ सय, हरीनगर गाउँपालिकामा हरीनगर प्राथमिक स्वास्थ्य केन्द्रबाट २ सय, देवानगन्ज गाउँपालिकामा देवानगन्ज स्वास्थ्य चौकीबाट १ सय ८०, बर्जूको अमाईवेला स्वास्थ्य चौकीबाट १ सय ८५, भोक्राहामा आधारभूत स्वास्थ्य केन्द्र चिरौलिचौक भोक्राहाबाट १ सय ८१, गढीमा औरावनी स्वास्थ्य चौकीबाट २ सय ७०, कोशी गाउँपालिकामा लौकी स्वास्थ्य चौकीबाट १ सय ८०, रामधुनी नगरपालिकामा कोभिड अस्पताल रामधुनीबाट २ सय, बराह नगरपालिकामा नगर अस्पताल महेन्द्रनगरबाट २ सय ३० र दुहबी नगरपालिकामा आधारभूत स्वास्थ्य केन्द्र दुहबीबाट २ सय ४० जना गरी जम्मा ७ हजार १ सय ६६ जना दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरूलाई कोरोना विरुद्धको खोप दिईदैछ ।

आज देखि सुरु हुने खोप पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मी, स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी, निजामती सेवाका कर्मचारी, जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी, हुलाक, कर र यातायात व्यवस्था कार्यालयका कर्मचारी, जनपथ प्रहरी, सशस्त्र प्रहरी विओपीमा खटिएका मात्र, बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी, प्राधिकरण र संस्थानमा कार्यरत कर्मचारी, अदालतका न्याधिश लगायत न्याय सरकारी वकिल र पत्रकारलाई कोरोना विरुद्धको खोप लगाईदैछ ।

धरानमा क-कसले लगाउदैछन कोरोना विरुद्धको खोप ?
धरानमा कोरोना विरुद्धको दोस्रो प्राथमिकतामा परेका १६ सय जनाले खोप लगाउदैछन् ।

सशस्त्र प्रहरी बल नेपालका ३८ जना, पत्रकार १ सय ५० जना, जनप्रतिनिधि १ सय ५ जना, निजामती कर्मचारी ५ सय ९२ जना, नेपाल टेलिकमका कर्मचारी ३२ जना, खानेपानी संस्थान र बोर्डका ९५ जना कर्मचारी, नेपाल विद्युत प्राधिकरणका १ सय ३५ जना कर्मचारी र बैङ्क तथा वित्तीय संस्थाका ५ सय जनालाई नेपाल सरकारको दोस्रो प्राथमिकतामा राखेर धरानको पुरानो अस्पताल छाता चौकमा रहेको धरान स्वास्थ्य चौकीमा फागुन ३,४ र ५ गते ३ दिन कोरोना विरुद्धको खोप लगाइने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिएका छन् ।