धरान : अरुण तेस्रो आयोजनामा कार्यरत ठेकेदार कम्पनी जेपी एसोसियटको टिपरको ठक्करबाट मकालु गाउँपालिका ५ फ्याक्सिन्दामा मृत्यु भएका खड्गबहादुर राईको तीन दिन बित्दा पनि अझै शव घटना स्थलबाट उठाइएको छैन ।

आफन्तले क्षतिपूर्ति माग्दै अरुण तेस्रोको काम ठप्प पारेका छन् । उनीहरूले उत्तर–दक्षिण कोसी राजमार्ग अवरुद्ध पारेका छन् । भारतीय नम्बर प्लेटको टिपरले ठक्कर दिएपछि राईको घटनास्थलमै शुक्रवार मृत्यु भएको थियो ।

उनका आफन्तले एउटा भारतीय नम्बर प्लेटको गाडी, टिपर र जयप्रकाश एसोसिएट कम्पनीको कार्यालयमा तोडफोड र आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिएका छन् । अरुण तेस्रोको बाँध र पावर हाउस जाने सुरुङ निर्माणाधीन अवस्थामा छ ।

मृतक राईका आफन्तले घाइतेको उपचार, बालबच्चाको सम्पूर्ण पढाइ खर्च बेहोर्न माग गर्दै जलविद्युत् आयोजनाको काम ठप्प पारेका छन् । भारतको विहार प्रदेशको ७६१० नम्बरको टिपरले को २३ प ४८१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

टिपरको ठक्करबाट गम्भीर घाइते भएकी राईकी श्रीमती प्रेमकुमारीको उपचारका लागि शुक्रवार हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ । प्रहरीले टिपर चालक काभ्रे नमोबद्ध नगरपालिका–६ का ३० वर्षीय सुवास चौलागाई र टिपरलाई नियन्त्रणमा लिएको छ ।

मृतक राई राजारानी आधारभूत विद्यालय मकालु–३ का कार्यालय सहयोगी र गम्भीर घाइते प्रेमकुमारी सोही विद्यालयकी बाल शिक्षिका हुन् । उनीहरू गाउँपालिका केन्द्र नुममा सञ्चालन भइरहेको तालिममा सहभागी हुन आउँदै थिए ।

टिपर ब्याक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको र ठक्कर दिएको थाहा पाएपछि पुनः टिपरले पेलेर राईको मृत्यु भएको भन्दै स्थानीय आन्दोलित भएका हुन् । स्थानीय आन्दोलित भएपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी नवराज मल्लसहित टोली शुक्रवार देखिनै घटना स्थलमा खटिएको छ ।

आज सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी र जेपी एसोसियटको सिओ घटनास्थल आउँदै गरेको र समस्याको निकास हुने घटना स्थलमा रहेका डिएसपी मल्लले कपुरी न्युजलाई बताए । अहिले घटना स्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ ।