धरान :आज फेब्रुअरी १४ तारिख अर्थात् “प्रणय दिवस" (भ्यालेन्टाइन डे) विश्वभर मनाइँदै छ ।

विशेष गरी युवा–युवतीले आजको दिनलाई माया साटा साट् गर्ने विशेष अवसरका रूपमा मनाउने गरेका छन् । आजको दिनमा प्रेमी–प्रेमिकाले प्रेमको प्रतीक रूपमा रातो गुलाब साटासाट गर्ने र औपचारिक रूपमा प्रेम प्रस्ताव राख्ने प्रचलन छ ।

आफूलाई माया गर्ने मायालुलाई रातो गुलाबको फूल तथा विभिन्न उपहार दिएर यो दिवस मनाउने गरिन्छ । यस दिनको खास नाम भने क्रिस्चियन सन्त भ्यालेन्टाइनको नामबाट राखिएको हो ।

पश्चिमा देशहरूबाट सुरु भएको प्रणय दिवस मनाउने चलन अहिले हामीकहाँ पनि निकै मौलाएको पाइन्छ । यो प्रणय दिवससँग विभिन्न कथा तथा इतिहास जोडिएका छन् र यस विषयमा विभिन्न तथ्यहरू पनि छन् ।

“भ्यालेन्टाइन डे“ को औपचारिक सुरुवात सन् २६९ रोमनबाट भएको मानिन्छ । जति बेला तत्कालीन रोमन सम्राट् क्लाउडियस द्वितीयले आफ्ना सैनिकलाई प्रेम तथा विवाह गर्न रोक लगाएका थिए ।

उनको मत अनुसार अविवाहित पुरुषसँग अब्बल क्षमता हुन्छ तर प्रेम र विवाहले सैनिक कमजोर हुन्छन् तथा युद्धसँग सम्बन्धित गोप्य सूचना बाहिर सार्वजनिक हुनसक्छ र विवाह पछि पुरुषको बुद्धि र शक्तिमा ह्रास आउँछ भन्ने धारणाले सम्राट् क्लाउडियसले प्रेम तथा विवाहमा रोक लगाएका थिए । तर सम्राट्को नियम मन नपराउने मध्ये रोमनका पादरी सन्त भ्यालेन्टाइनले प्रेमको पक्षमा आवाज उठाए ।

उनले यस प्रतिबन्धलाई उल्लङ्घन गर्दै धेरै सैनिकको सार्वजनिक रूपमा विवाह गराइदिए । तब सम्राट्ले उनलाई पक्राउ गरी मृत्युदण्डको सजाय सुनाएर जेल चलान गरिदाए ।

भ्यालेन्टाइनलाई जेलमा कोचिएको थियो र उनको एक जेलरकी छोरी सँग मन मिल्न गयो । भ्यालेन्टाइनले जसलाई मन पराएका थिए, उनी दृष्टिविहीन थिइन् । केही समय पछि उनीहरू प्रेममा परे । भ्यालेन्टाइनले आफैँ भेटेर जेलरकी छोरीलाई पहिलो पटक ग्रिटिङ दिएका थिए ।

एक दिन उनी भ्यालेन्टाइनलाई भेट्न जेलमा गएकी थिइन् । तर, त्यहाँ उनले भ्यालेन्टाइन होइन, उनले लेखेको पत्र मात्र भेटिन् । मर्नुभन्दा पहिले भ्यालेन्टाइनले आफ्नो हस्ताक्षर सहित लेखेका थिए, “फर योर भ्यालेन्टाइन“। जुन उद्धरण आजको दिनमा पनि प्रयोग गरिन्छ ।

उनलाई सन् २६९ को फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवस भ्यालेन्टाइन डे मनाउन सुरु गरिएको हो ।

पछिल्लो समय नेपालमा पनि यो दिनलाई विशेष दिनकोरुपमा युवा युवती माझमा लोकप्रिय बन्दै गएको छ ।