धरान : मोरङ र तेह्रथुममा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

मोरङको लेटाङ २ बस्ने ६७ वर्षीय रत्न बहादुर श्रेष्ठको ट्रकको ठक्करबाट मृत्यु भएको छ । शनिवार दिउसो ४ बजे मोरङको सुन्दरहरैचा स्थित राजमार्गमा ना ३ ख ५६९१ नम्बरको ट्रकले साईकलयात्री श्रेष्ठलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।

गम्भीर घाइते भएका श्रेष्ठको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा शनिवार अपराह्न ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ठक्कर दिने ट्रक र चालक धनकुटा साँगुरीगढीका २९ वर्षीय अमिर राई प्रहरी नियन्त्रणमा रहेको छ ।

यसै गरी तेह्रथुमको लालिगुरास नगरपालिका ५ स्थित बस्ने ७३ बर्षीया मङ्गलमाया लिम्बुको लडेर मृत्यु भएको छ । गए राती के कुन समयमा लालीगुराँस स्थितमा रहेको पात्ले डाँडामा मङ्गलमायाको लडेर मृत्यु भएको भनी स्थानीयले इलाका प्रहरी कार्यालय वसन्तपुरमा जानकारी गराएका थिए ।

घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटी गई कानुनी कारबाही भइरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।