झापा : झापाको अर्जुनधारा नगरपालिका पशु पन्छी, मत्स्य तथा कछुवा विकास शाखाले नगरमा व्यावसायिक रूपमा कुखुरा पालन गर्ने कृषकहरूका लागि तालिम सञ्चालन गरेको छ ।

दुई दिवसीय तालिममा नगर भित्र व्यावसायिक कुखुरा पालन गर्ने कृषकहरूको सहभागिता रहेको थियो । तालिममा कुखुरा पालनका लागि आवश्यक शिप, ज्ञान र प्रविधिका बारेमा जानकारी गराइएको थियो ।

छोटो समयमा धेरै कुराहरू सिकाएको अनुभव सुनाउँदै तालिममा सहभागी अर्जुनधारा ११ का युवा कृषक चन्द्र बहादुर कार्की यस तालिम वाट थप फड्को मार्न सक्ने वताउँछन ।

कुखुरा पालन व्यवसाय केही वर्ष देखि गरी आएता पनि विना ज्ञान शिप अन्धाधुन्धरुपमा गरिरहेको बताउँदै यो तालिमबाट व्यवसायलाई अगाडि बढाउन मद्दत पुगेको वताउँछिन तालिममा सहभागी अर्जुनधारा ५ कि कृषक इन्दिरा बस्याल ।

अर्जुनधारा नगरपालिका पशुपन्छी, मत्स्य तथा कछुवा विकास शाखामा शाखा प्रमुखको रूपमा पदम राईको अगमन सँगै धेरै सकारात्मक परिवर्तनहरू भएको उल्लेख गर्दै अर्जुनधारा प्रेस क्लबका उपाध्यक्ष सञ्चारकर्मी समेश समदर्शीले यस अघि पशुपन्छी, मत्स्य तथा कछुवा विकास शाखाले के काम गर्थ्यो रु भन्ने बारे कुनै जानकारी नै नहुने बताए ।

नगरपालिका भित्रका कृषकहरूलाई सूचनाको पहुँचमा आउन आग्रह गर्दै पशुपन्छी, मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदम राईले व्यावसायिक यात्रालाई सहज बनाउन आफ्नो शाखाबाट सकारात्मक सहजीकरण गरिने बताए ।

कृषकको आघातमा राहत दिने प्रयास स्वरूप नगर अगाडि बढेको बताउँदै शाखा प्रमुख राई कृषकहरूको उन्नतिका लागि केही नवीन कामको थलानी गर्ने वताउँछन । आगामी नीति तथा कार्यक्रम तयारीकालागी आम कृषकहरूको भेला गराएर कार्यक्रम तय गरिने बताउँदै राई भन्छन् “कार्यक्रम निर्माण गरेपछि यसलाई पारदर्शी ढङ्गबाट सम्पन्न गर्न आम कृषकको सकारात्मक सहयोगको आवश्यकता पनि उत्तिकै जरुरी हुन्छ ।”

नगरपालिकाले कृषकको भावना र चाहना अनुसारका निति तथा कार्यक्रम सञ्चालनलाई प्राथमिकता दिने बताउँदै अर्जुनधारा नगरपालिका आर्थिक विकास समितिकी संयोजक दिलमाया दास भन्छिन् “कृषि र पशुको क्षेत्रमा उल्लेख्य काम गर्ने गरी बजेट व्यवस्थापन गरिएको हुँदा पशुमा नश्ल सुधार देखि ११ वटै वडाका ५-५ स्थानमा लोकल कुखुराको कार्यक्रम सञ्चालन गरेर नगरलाई लोकल कुखुरामय बनाउने अभियानमा नगर रहेको छ ।”