झापा : झापाको भद्रपुर नाका खुलाउनु पर्ने माग राख्दै नेपाली काँग्रेसका कार्यकर्ताले आइतबार बिहान भद्रपुर नगरपालिकाको कार्यालय घेराउ गर्दै नाराबाजी गरेका छन् ।

कोभिडका कारण बन्द गरिएको भद्रपुर नाका ११ महिना बित्न लाग्दा समेत खुलाउने विषयमा सरकार गम्भीर नदेखिए पछि नेपाली काँग्रेस ५ नम्बर वडा समितिले नगरपालिका घेराउ गर्दै चर्को नाराबाजी गरेका हुन ।

कार्यकर्ताले सीमा नाका खुला गर, बेरोजगारलाई रोजगार दे, लोकतन्त्र जिन्दाबाद भन्ने नारा लगाएका थिए । नाराबाजी पश्चात् काँग्रेस वडा समितिले तुरुन्त नाका खुलाउनु पर्ने माग राख्दै भद्रपुर नगरपालिकालाई ज्ञापन पत्र बुझाएको थियो । वडा समितिका सभापति रमेशचन्द्र झाले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भट्टराईलाई ज्ञापन पत्र बुझाएका हुन ।

भद्रपुर नाका बन्द भएको कारणले यस क्षेत्रका बासिन्दालाई भारत जान काँकडभिट्टा नाका प्रयोग गर्न बाध्य पारिएको छ । सीमा नाकासँग जोडिएको यस क्षेत्रका कतिपय नागरिक सीमा पारी नाता आफन्त भेटघाटमा असहजता पुग्नुका साथै रोटी बेटीको सम्बन्ध भए पनि बिहाबारी र औषधि उपचार गराउन समेत समस्या उत्पन्न भइरहेको काँग्रेस ५ नम्बर वडा समितिका सभापति रमेशचन्द्र झाले बताए ।

ज्ञापन पत्र बुझ्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भट्टराईले भद्रपुर नाका खुलाउने विषयमा सरकारलाई पहल गर्ने भनी नगर कार्यपालिका बैठकमा निर्णय भइसकेको जानकारी दिए । सोही निर्णय बमोजिम नगरपालिकाले सरकारलाई पत्र पठाइसकेको र थप पहल गर्नका निम्ति मेयर जीवनकुमार श्रेष्ठलाई काँग्रेसले बुझाएको ज्ञापन पत्रको बारेमा जानकारी गराउने उनको भनाई छ ।

सरकारले कोरोना भाइरस ९कोभिड– १९०को महामारी पछि देशभरका नाका बन्द गराएको थियो । पछिल्लो समयमा कोरोना महामारी नियन्त्रण हुँदै गएपछि सरकारले ३० वटा नाका अति आवश्यक र घरायसी प्रयोजनका लागि खुला गरेको छ । सरकारले झापाको काँकडभिट्टा र गौरीगञ्जको खजुरगाछी नाका खुला गरेको छ ।

Bhadrapur-Nagarpalika